सेयर बजारमा पहिरो, सबै उपसुचक राताम्मे


काठमाडौँ । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुगेको हो ।

बुधबार कारोबारमा आएका ३५२ कम्पनीका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयरहरू ५७ हजार ९४७ पटक किनबेच हुँदा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुग्दा कारोबार रकम ६ अर्ब ९८ करोड रुपैयाँ पुगेको थियो ।

बुधबार सबै उपसुचक राताम्मे हुँदा जीवन बीमा समूह सबैभन्दा बढी २४६.६५ अंकले घटेको छ । निर्जीवन बीमा समूह १२९.७८ अंकले घटेको बजारमा विकास बैंक समूह ७५.४९ अंकले घट्दा होटल तथा पर्यटन समूह ७०.९०, जलविद्युत समूह ६०.९९, लघुवित्त समूह ६०.३३ उत्पादन तथा प्रशोधन समूह ४८.१९, व्यापार समूह ४१.४० अंकले र वाणिज्य बैंक समूह १८.५९ अंकले घटेको छ ।

समग्र बजार घट्दा पनि धौलागिरी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५.४४ प्रतिशतले बढेको छ ।

यता, फ्रस्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ८.५४ प्रतिशतले घटेको बजारमा माउन्ट एभरेष्ट पावरको सेयर मूल्य ५.७२ प्रतिशत, कालिका लघुवित्तको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ ।

आज कारोबार रकमको आधारमा शिभम् सिमेन्ट ३८ करोड ३४ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।