खोटाङ । भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्र्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ ।
अविरल वर्षालाई मध्यनजर गर्दै प्रशासनले जोखिम न्यूनीकरण गर्न साँझ ७ देखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन नगर्न÷नगराउन निर्देशन दिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्र तथा जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार यही असोज ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शम्शेरबहादुर राईद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रशासनद्वारा जारी सूचनाको बर्खिलाप हुनेगरी व्यवसायीले सवारीसाधन सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ । वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम हुनसक्नेतर्फ सचेत गराउँदै सतर्कता अपनाउन प्रशासनले सूचनामार्फत आग्रह गरेको हो ।









