बसुन्धारामा कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’ स्थापना, उपप्रधानमन्त्री पोखरेलको निरीक्षण

0
Shares

काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’ सञ्चालनमा आउने भएको छ ।

छिट्टै सञ्चालनमा आउन लागेको उक्त सेन्टरको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निरीक्षण गरेका छन् । निरीक्षणकै क्रममा उनले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै साताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित संचालन हुन लागेको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

आवश्यकता अनुसार २ सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइशोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाइको सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले बताए । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उनले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताए ।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्टार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेशन केन्द्रको बारेमा जानकारी गराएका थिए ।

निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको पनि सहभागिता थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।