म्याग्दी । यही असोज ८ देखि ११ गतेको निरन्तरको झरीपछिको पहिरोका कारण प्रभावित बनेको म्याग्दी जिल्लामा राहत, उद्धार र व्यवस्थापकीय कार्यका लागि प्रवासमा रहेका म्याग्देलीहरूले १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले उक्त सहयोग गरेको हो । मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले संस्थागत रूपमा जिल्ला विपद् व्यवस्थापन समितिलाई उक्त सहयोग उपलब्ध गराएको बताए ।
“जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार पहिरो र बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, तरकारी र बन्दोबस्तीका सामान खरिदमा १५ लाख रुपैयाँ बराबरको खर्च मोनाले व्यहोरेको छ”, उनले भने, “पुनर्निर्माण र पुनस्र्थापनाको काममा पनि मोना र गैरआवासीय नेपाली सङ्घ मोनाले सरकारलाई साथ दिन्छौँ ।”
पहिरोमा परि म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको छ । दुई जना बेपत्ता भएका छन् भने पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर, किन्दुका १०६ जनालाई उद्धार गरिएको छ ।
पहिरोबाट म्याग्दी जिल्लाभर २०० घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । उनका अनुसार सडक, विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएको छ । पोखरादेखि म्याग्दी सदरमुकाम बेनी जोड्ने र बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन् । बेनी बजारबाहेक ग्रामीण क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध छ ।









