एनआईसी एशिया क्यापिटल र बिराट एग्री लिमिटेडबीच सम्झौता


काठमाडौँ । एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आइडीया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ।

सोही सेवा अन्तर्गत इटहरी–१३, सुनसरीमा कारोवार कार्यालय रहेको बिराट एग्री लिमिटेडको प्रचलित कानूनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक सेयर निष्कासन गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सहितको सेवा उपलब्ध गराउने गरी एनआईसी एशिया क्यापिटल लिमिटेड र बिराट एग्री लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ।

नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक तथा दिगो ढाँचामा विकास गर्ने उद्देश्यले स्थापित बिराट एग्री लिमिटेड मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै देशका ठूला तथा व्यवस्थित व्यावसायिक मत्स्य फार्ममध्ये एक अग्रणी व्यावसायिक मत्स्य फार्मका रूपमा अघि बढिरहेको छ।

कम्पनीले इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्टमार्फत आफ्ना परियोजना तथा बजारका लागि विभिन्न प्रकारका तैरिने र डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।

कृषि तथा मत्स्यपालन क्षेत्रको सम्पूर्ण मूल्य शृङ्खलालाई एकीकृत गर्दै उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणलाई थप व्यवस्थित र व्यावसायिक बनाउने दीर्घकालीन योजनाअनुरूप कम्पनीले प्रस्तावित सार्वजनिक सेयर निष्कासनबाट प्राप्त पूँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्दै आगामी दिनमा विभिन्न महत्वपूर्ण परियोजना अघि बढाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।