कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन


चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदा दुरुपयोग भएको भन्ने गुनासो पछि छानबिन गर्न समिति गठन गरिएको छ । विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको उल्लेख छ ।

समितिमा कृषि सङ्कायका सहायक डीन ९प्रशासन० डा कृष्णप्रसाद थापालिया, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका सहायक डीन (प्रशासन) राजेन्द्र बस्याल र सहप्रशासक सहदेव चौधरी सदस्य रहेका छन् । कर्मचारी प्रशासन महाशाखाका कामु उपप्रशासक दिनेश अधिकारी सदस्य सचिव रहेका छन्।

समितिले विश्वविद्यालय स्थापना भएदेखि वा अन्य विश्वविद्यालय तथा निकायबाट समायोजन भई विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवामा रहेका र अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीको बिदा स्वीकृति, अध्ययनको अवस्था, बिदाको प्रयोजन तथा बिदा अवधिमा भए÷गरेका गतिविधिबारे छानबिन गर्ने पत्रमा उल्लेख छ ।

त्यसैगरी, अध्ययन बिदाको स्वीकृति प्रक्रिया, अध्ययनको प्रगति तथा बिदाको अवधिमा सम्बन्धित शिक्षक तथा कर्मचारीले गरेका गतिविधिलाई छानबिनको आधार बनाइने विश्वविद्यालयले जनाएको छ । 

समितिले तोकिएको कार्यादेशअनुसार अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी तीन महिनाभित्र विश्वविद्यालयको रजिस्ट्रार कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउनेछ । विसं २०६९ मा स्थापना भएको यस विश्वविद्यालयमा प्राध्यापक कर्मचारी गरी ७७१ जना छन् । जसमध्ये १७२ जना प्राध्यापन र ५९९ जना कर्मचारी रहेका छन् । तीमध्ये प्राध्यापनतर्फका ४० जना र कर्मचारी २५ जना बिदामा रहेको रजिष्ट्रार सिंहले जानकारी दिए ।

उनीहरु र यसअघि बिदा लिएकाहरुले बिदाको सही उपयोग गरे÷नगरेकोसमेत अध्ययन गरी प्रतिवेदन तयारका लागि समिति बनाइएको उनले बताए । यसअघि बिदामा गएर नआएका कोही भए त्यसकोसमेत समितिले खोजी गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार  ०९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।