उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल


बनेपा । दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

चाडपर्वका बेला बजारमा हुनसक्ने सम्भावित मूल्यवृद्धि हस्तक्षेप  गर्दै उपभोक्तालाई सुलभ दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा चाडपर्वका सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको छ । 

बनेपाको तीनदोबाटोस्थित कर्पोरेशनको वितरण केन्द्रमा सञ्चालित सुपथ मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुनेछ । शनिबारसहित हप्ताको सातैदिन बिहान ९ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म पसल खुला रहनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेशन बनेपा शाखाका कार्यालय प्रमुख सुरेन्द्र अवालेका अनुसार विशेष मूल्यसूची निर्धारण गरिएको छ । पसलमा नुनको मूल्य २४ र प्रतिकेजी चिनीको मूल्य १०० तोकिएको छ । 

त्यस्तै, २५ किलोग्रामको भान्साघर स्टिम जिरा मसिनो चामलको मूल्य २ हजार ५८० कायम गरिएको छ । मङ्गलम, पाल्की, निश्चल, नातिनातिनी र बहुलीलगायत विभिन्न ब्रान्डका चामलसमेत छुटसहित बिक्रीका लागि राखिएका छन् ।

मूल्य सूचीअनुसार मुसुरो दाल प्रतिकिलोग्राम  १४०, रहर दाल  २१०, मास दाल  २०५ र चना दाल  १५५ मा बिक्री भइरहेको छ । मुग दाल, विभिन्न प्रकारका सिमी तथा गेडागुडीसमेत छुट मूल्यमा उपलब्ध रहेको उनले बताए।

मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदा, कोदो र फापरको पिठो तथा मकै र जौको च्याख्लासमेत बिक्रीका लागि राखिएको छ । घ्यु तथा तेलतर्फ डिडीसी घ्यु १ हजार १४०, शान्ति तोरीको तेल  ३८० र तृप्ति तोरीको तेल रु २७० मा उपलब्ध छन् । सनबिम सूर्यमुखी तेलसमेत बिक्रीका लागि राखिएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।