नारायणगढमा साल्ट ट्रेडिङको सुपथ पसल सञ्चालन


चितवन । चाडपर्व नजिकिँदै गर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि नारायणगढमा सञ्चालनमा ल्याइएको सुपथ मूल्यको पसलमा बाहिर बजारको तुलनामा चाडपर्वका लागि आवश्यक खाद्यान्न सस्तो मूल्यमा बिक्री गरिएको छ ।

लिमिटेडले बजारमा प्रतिकिलो १३० रुपैयाँसम्म पर्ने चिनी १०० रुपैयाँमा नै बिक्री गर्दै आएको छ । चिनीसँगै अन्य खाद्यान्न सामग्री सहुलियत दरमा बिक्री गरिएको कार्यालयका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । उनका अनुसार कार्यालयको सुपथ पसलबाट आयो नुन, चिनी प्रतिव्यक्ति छ किलोका दरले बिक्री गरेको छ । यस्तै, तेल, चिउरा, दाल, पिठो, मैदा प्रतिव्यक्ति पाँच लिटर र पाँच केजीका दरले बिक्री गरिएको छ । तेल, चिउरा, दाल, पिठो मैदामा प्रतिकिलो र लिटरमा रु सात छुट गरिएको छ ।

कात्तिक मसान्तसम्म सञ्चालन हुने सुपथ मूल्य पसल सार्वजनिक बिदाको दिनबाहेक बिहान ९ः१५ बजेदेखि ४ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ । पछिल्ला दिनमा उपभोक्ताको चाप बढ्दै गएको उनले बताए । सुपथ पसलबाट विभिन्न नौ प्रकारका खाद्यान्न सामग्री बिक्री गरिएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार  १७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।