काठमाडौँ । आइतबार बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखा जिल्लाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ । सुख्खा पहिरोका कारण बुढीगण्डकी नदी र स्यार खोला थुनिएर बनेको अस्थायी बाँध खुलेपछि आएको बाढीले घर, पुल, हाइड्रोपावरका संरचना तथा अन्य भौतिक पूर्वाधार बगाएको छ । बाढीबाट प्रभावित बस्तीको अवस्था, मानवीय तथा भौतिक क्षति, उद्धार र राहतका विषयमा नोटबजारले चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामासँग गरेको कुराकानीको सम्पादित अंश :
बुढीगण्डकी नदीमा बाढी कहिले र कसरी आयो ? बाढी आउनुको मुख्य कारण के देखिएको छ ?
आइतबार बिहान ४ बजेर २५ मिनेट जाँदा चुमनुव्री गाउँपालिका–६ स्थित उजुलुङ खोलाको क्षेत्रमा ठूलो भूकम्प आएको जस्तो धक्का महसुस भएको थियो । सुरुमा ठूलो आवाजसहितको धक्का महसुस हुँदा भूकम्प आएको हो कि भन्ने लागेको थियो । त्यो सुख्खा पहिरो खसेको आवाज रहेछ ।
सुख्खा पहिरो खसेपछि बुढीगण्डकी नदी र स्यार खोला थुनिएर अस्थायी ड्याम बनेको थियो । पहिरोले नदीको बहाव रोकेपछि ड्यामभन्दा तलतिरको नदीको सतह पूरै सुक्खा भएको थियो । त्यसपछि एकैपटक थुनिएको नदी खुलेपछि ठूलो बाढी आएको हो । पहिरोका कारण नदी थुनिने र फेरि खुल्ने क्रम पनि जारी रह्यो । एकैपटक ठूलो परिमाणमा पानी बग्दा नदी आसपासका क्षेत्रमा क्षति पुगेको हो ।
अहिले भने नदीको अवस्था क्रमशः सामान्य हुँदै गएको छ । तर, यस्तो प्राकृतिक विपद्को अवस्थामा जुनसुकै बेला जोखिम उत्पन्न हुन सक्ने भएकाले हामीले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिरहेका छौँ ।
बाढीबाट भएको मानवीय र भौतिक क्षतिको अवस्था कस्तो छ ?
अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार चुमनुव्री गाउँपालिकाभित्र मात्रै पाँच जना गोठाला बेपत्ता भएका छन् । अन्य क्षेत्रसमेत जोड्दा कम्तीमा १० जना सम्पर्कविहीन भएको जानकारी आएको छ । तर, सबैको अवस्थाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । त्यसैगरी कम्तीमा १०० वटा चौँरी बेपत्ता भएका छन् । बाढीले गोठ तथा पशुचौपायामा समेत क्षति पु¥याएको छ । बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ । तर, मानवीय क्षतिको वास्तविक अवस्था भने बेपत्ता भएका व्यक्तिबारे थप जानकारी प्राप्त भएपछि मात्रै स्पष्ट हुनेछ ।
अहिलेसम्म प्राप्त विवरणअनुसार ठूलो भौतिक क्षति भएको छ । तर, सबै ठाउँको यकिन विवरण सङ्कलन भइसकेको छैन । नदी आसपासका घरहरू बगेका छन् । कतिपय ठाउँमा कति घर बगे भन्ने यकिन गर्नसमेत सकिएको छैन ।
चुमनुव्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ घर बाढीले बगाएका छन् । त्यस्तै जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ । बाढीले हाइड्रोपावर समेत बगाएको छ । जसले करिब ४०० मेघावाट भन्दा बढी बिजुली आपूर्ति प्रभावित हुने हाइड्रोका कर्मचारीहरू बताइरहेका छन् ।
अहिले हामीले विभिन्न क्षेत्रबाट क्षतिको विवरण सङ्कलन गर्ने काम गरिरहेका छौँ । बाढीले घर मात्रै नभएर पुल, पशुचौपाया र अन्य भौतिक संरचनामा समेत क्षति पु¥याएको छ । त्यसैले सबै विवरण प्राप्त भएपछि मात्रै वास्तविक क्षतिको अवस्था स्पष्ट हुन्छ ।
अहिलेसम्म प्राप्त जानकारीअनुसार बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल गरी छवटा पुल बगाएको छ । यसले विभिन्न क्षेत्रबीचको आवतजावतमा समस्या उत्पन्न गराएको छ ।
आरुघाट क्षेत्रको सोती र मान्बु जोड्ने पक्की पुल पनि बाढीले बगाएको छ । त्यसैगरी धार्चे गाउँपालिका १ र ३ जोड्ने बेलिब्रिजसमेत बगेको छ ।
माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुव्रीको ठाडो भ¥याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । यी पुलहरू स्थानीय बासिन्दाको दैनिक आवतजावतका लागि महत्त्वपूर्ण छन् । पुल बगाएपछि राहत सामग्री पु¥याउन र आवश्यक उद्धारका काम गर्न पनि कठिनाइ हुन सक्छ ।

स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम कसरी भयो ?
सुख्खा पहिरो खसेलगत्तै हामीले सुरक्षा निकाय, सञ्चारमाध्यम तथा अन्य सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरेका थियौँ । हामीले सबै पक्षलाई घटनाबारे जानकारी गराउँदै सूचना फैलाउन आग्रह गरेका थियौँ । गाउँपालिकाको फेसबुक पेजबाट पनि सूचना सार्वजनिक ग¥यौँ । नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गर्ने, आवश्यक सूचना पु¥याउने र जोखिममा रहेका मानिसलाई सुरक्षित ठाउँमा सार्ने काम गरेका थियौँ ।
हामीले समयमै सूचना प्रवाह गर्न र सम्बन्धित निकायसँग समन्वय गर्न सकेका कारण थप मानवीय क्षति कम गर्न सहयोग पुगेको छ । बाढीले घर तथा अन्य भौतिक संरचना बगाए पनि मानिसको सुरक्षालाई प्राथमिकता दिएर काम गरेका थियौँ । अहिलेपनि जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा बस्न र सम्बन्धित निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिरहेका छौँ ।
अहिले नदीको अवस्था क्रमशः सामान्य हुँदै गएको छ । तर, पूर्ण रूपमा जोखिम हटिसकेको छैन । हामीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ । विशेषगरी नदीको किनारमा अनावश्यक रूपमा नजान अनुरोध गरेका छौँ । विपद् आएको ठाउँ हेर्न, भिडियो बनाउन वा फोटो खिच्न नजान अनुरोध गरेका छौँ । प्राकृतिक विपद् हो, जुनसुकै बेला अवस्था परिवर्तन हुन सक्छ ।
बाढीबाट विस्थापित भएका तथा जोखिममा रहेका परिवारको व्यवस्थापन उद्धार तथा राहतको काम कसरी भइरहेको छ ?
बाढीले घर बगाएका तथा जोखिममा रहेका परिवारको अवस्थाबारे विवरण सङ्कलन भइरहेको छ । जोखिमको अवस्था हेरेर सुरक्षित ठाउँमा सार्ने काम पनि गरिएको छ ।
उद्धार र राहतका लागि हामीले सम्बन्धित निकायमा पहल गरिरहेका छौँ । गृह मन्त्रालयमा फोन गरेर घटनाको अवस्थाबारे जानकारी गराइसकेका छौँ । जिल्ला प्रशासन कार्यालय गोरखामा पनि बाढीले पु¥याएको क्षति र प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका छौँ । त्यसैगरी गण्डकी प्रदेश सरकारलाई पनि जानकारी गराएर समन्वय गरिरहेका छौँ । सबै निकायसँग सहकार्य गरेर उद्धार र राहतका कामलाई प्रभावकारी बनाउने तयारीमा छौँ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका साथीहरू पनि आउनुभएको छ । सुरक्षा निकायसँग मिलेर आवश्यक कामहरू भइरहेका छन् । यो प्राकृतिक विपद् हो । यस्तो अवस्थामा सबै पक्षको सहकार्य आवश्यक हुन्छ । त्यसैले सबैलाई संयमित रहन, सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गर्दछु ।








