नवलपरासी । गत असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट(२ का बासिन्दालाई राहत सामग्री वितरण गरिएको छ । लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ आरले यहाँका बाढी पीडितलाई आज २६ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु प्रदान गरेको हो ।
क्लबका डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न तथा उपभोग्य वस्तु २०० परिवारलाई वितरण गरिएको जानकारी दिए । उनका अनुसार प्रतिपरिवार हाइजेन किट, पानी, बाल्टी, खाना पकाउने सामग्री (डेक्ची, डाडु, पन्युलगायत), कालो म्याट, त्रिपाल, खाद्य पदार्थ (दाल, चामल, नुन, तेलसहित), सिरक, डसना, तन्ना र सिरानी प्रदान गरिएको छ ।
लायन्स क्लब अन्तरराष्ट्रियबाट प्राप्त सहयोगमा स्थानीय क्लबले सहकार्य गरी राहत सामग्री वितरण गरेको उनले जानकारी दिए । गैँडाकोटका बाढीपीडितलाई राहत सामग्री वितरण गर्न लायन्स क्लब अन्तरराष्ट्रियबाट १५ हजार अमेरिकी डलर सहयोग प्राप्त भएको पण्डितले बताए ।
“उक्त रकमबाट हामीले बाढी आउनेबित्तिकै यहाँका सम्पूर्ण बाढीपीडितका लागि चार छाक खाना खुवाएका थियौँ”, उनले भने, “यो राहत सामग्री केही दिन अगाडि बाँड्ने तयारी हुँदा मौसम प्रतिकुल भएपछि आज वितरण गरेका हौँ ।”
गत असोज ११ गते नारायणी नदीमा इतिहासकै सबैभन्दा ठूलो बाढी आएको थियो । नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार ११ गते दिउँसो नदीमा पानीको सतह ११.९३ मिटर पुगेको थियो । नारायणी नदीमा ७.३ मिटर पानीको सतहलाई चेतनाको तह र नौ मिटरलाई खतराको तहका रूपमा लिने गरिएको छ ।







