यो साता कस्तो रहला सेयर बजार ?


काठमाडौँ । गत साता ४.५५ अंकले बढेको नेप्से परिसुचक यो साता कस्तो रहला भन्ने विषयमा लगानीकर्तामाझ चासो बढेको छ । दशैं नजिकिँदै गर्दा बजारमा बिक्रीको दबाब बढ्न सक्ने आँकलन भइरहेका बेला कारोबार रकममा देखिएको सुधारले भने बजारप्रति केही आशा जगाएको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेको थियो । साताको सुरुवाती कारोबार दिन सोमबार २५६६.७६ विन्दुमा झरेको बजार त्यसपछि उतारचढावपूर्ण अवस्थामा रह्यो ।

मंगलबार ११.९६ अंकले बढेको बजार बुधबार ६.३८ अंकले घटेको थियो भने बिहीबार सामान्य सुधार देखिएको थियो । साताको अन्तिम दिन सबै उपसूचकमा वृद्धि भएपछि बजारले सकारात्मक संकेत दिएको छ ।

कारोबार रकममा वृद्धि, बजारमा कस्तो पर्ला प्रभाव ?

गत साता नेप्सेमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । सोमबार ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँको कारोबार भएकोमा साताको अन्तिम दिन शुक्रबार कारोबार रकम बढेर ४ अर्ब ८२ करोड ३८ लाख रुपैयाँ पुगेको थियो । यसले बजारमा लगानीकर्ताको कारोबार गतिविधि बढेको संकेत गर्छ ।

यद्यपि, कारोबार रकम बढ्दैमा बजार निरन्तर उकालो लाग्छ भन्ने निश्चित हुँदैन । बजारमा खरिदकर्ताको सक्रियता बढेको हो वा बिक्री गर्ने लगानीकर्ताको चाप बढेको हो भन्ने विषयले आगामी दिनको दिशा निर्धारण गर्न सक्ने जानकारहरू बताउँछन् । त्यसैले कारोबार रकमसँगै परिसूचकको चाल, कम्पनीहरूको मूल्यमा आएको परिवर्तन र लगानीकर्ताको मनोविज्ञानलाई पनि महत्त्वका साथ हेर्नुपर्ने उनीहरूको भनाई छ ।

दशैं नजिकिँदै गर्दा बिक्रीको दबाब बढ्ने आकलन

दशैं नजिकिँदै जाँदा लगानीकर्तालाई चाडपर्वका लागि आवश्यक खर्चको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा केही लगानीकर्ताले सेयर बिक्री गरेर नगद जोहो गर्न सक्ने भएकाले बजारमा बिक्रीको दबाब बढ्ने सम्भावना रहन्छ ।

स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटका अनुसार चाडपर्वको समयमा सेयर बजारमा गिरावट हाबी हुने सम्भावना रहन्छ । चाडपर्वको खर्च व्यवस्थापनका लागि लगानीकर्ताले सेयर बिक्री गर्न सक्ने भएकाले बजारमा त्यसको प्रभाव देखिन सक्ने उनको भनाइ छ ।

यद्यपि, चाडपर्व नजिकिँदैमा बजार अनिवार्य रूपमा घट्छ भन्ने हुँदैन । बजारको चालमा लगानीकर्ताको मनोविज्ञानले बढी असर गर्छ ।

विशेषगरी बैंकिङ, जलविद्युत्, बीमा, विकास बैंक तथा उत्पादनमूलक समूहका सेयरमा हुने कारोबारले बजारको समग्र दिशालाई प्रभावित पार्न सक्ने सरोकारवालाहरूको भनाई छ । गत शुक्रबार सबै उपसूचक बढेका कारण ती समूहमा यो साता पनि खरिदको चाप कायम रहन्छ कि रहँदैन भन्ने विषयमा लगानीकर्ताको ध्यान रहने उनीहरू बताउँछन् ।

आगामी साता बजारमा उतारचढाव कायम रहन सक्ने भएकाले लगानीकर्ताले हतारमा निर्णय लिनुभन्दा बजारको अवस्था मूल्यांकन गर्नुपर्नेमा जानकारहरूले जोड दिएका छन् ।

गत साता नेप्सेमा सामान्य सुधार र कारोबार रकममा वृद्धि देखिए पनि दशैं नजिकिँदै गर्दा बजारमा बिक्रीको दबाब बढ्न सक्ने आकलन जानकारहरूको भनाई छ । त्यसैले यो साता बजारमा सकारात्मक गति कायम रहन्छ वा पुनः गिरावट हाबी हुन्छ भन्ने कुरा लगानीकर्ताको व्यवहार, कारोबारको प्रवृत्ति र समग्र बजार परिस्थितिमा निर्भर रहने उनीहरू बताउँछन् ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  ०७ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।