हिमालयन बुलियन कम्पनीद्वारा ‘एचबीसी एप’ सार्वजनिक


काठमाडौँ । चाँदीको कारोबारमा २६ वर्षको इतिहास बोकेको हिमालयन बुलियन कम्पनी लिमिटेडले ग्राहकहरूका लागि नयाँ डिजिटल प्लेटफर्म ‘एचबीसी एप’ सार्वजनिक गरेको छ ।

सन् २००० मा स्थापना भएको यस कम्पनीले एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध गराएको उक्त एपमार्फत ग्राहकहरूले आफूलाई सहज हुने रकम र समयमा चरणबद्ध भुक्तानी गर्दै वास्तविक चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन् । यसअघि चाँदी खरिद गर्दा एकमुष्ट रकम जम्मा गर्नुपर्ने बाध्यता रहेकोमा अब भने साना–साना भुक्तानीबाटै वास्तविक चाँदीको स्वामित्व लिन सकिने सुविधा कम्पनीले ल्याएको हो ।

कम्पनीले दिएको जानकारी अनुसार एपमा दर्ता भई ग्राहक पहिचान ९केवाईसी० प्रक्रिया पूरा गरेपछि ग्राहकले दैनिक चाँदीको मूल्य र पुनः खरिद दर हेरेर आफ्नो लक्ष्य छनोट गर्न सक्नेछन् । ग्राहकहरूले १० ग्रामदेखि १०० ग्रामसम्मका चाँदीका सिक्का र ५०० ग्राम वा सोभन्दा माथिका बार खरिदको लक्ष्य राखी एक ग्राम बराबरको रकम, कुल मूल्यको ५ प्रतिशत वा सम्पूर्ण रकम एकैपटक भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

सम्पूर्ण भुक्तानी पूरा नहुन्जेल चाँदी कम्पनीको भल्टमा सुरक्षित रहने र भुक्तानी सकिएपछि ग्राहकले भौतिक रूपमै चाँदी संकलन गर्न सक्नेछन् । यो कुनै ट्रेडिङ वा लगानी योजना नभई शुद्ध भौतिक चाँदी खरिद गर्ने डिजिटल माध्यम मात्र भएको कम्पनीले स्पष्ट पारेको छ ।

एप सार्वजनिक गरिएको अवसरमा कम्पनीले दुईवटा विशेष अफरहरूको पनि घोषणा गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड र हिमालयन बुलियन कम्पनीबीचको सहकार्यमा एपका सबै ग्राहकलाई १० लाखसम्मको व्यक्तिगत दुर्घटना बिमा सुरक्षा उपलब्ध गराइनेछ । यसका साथै, आगामी तिहार पर्वसम्म एपमार्फत गरिएका प्रत्येक पूर्ण खरिदलाई लक्की ड्रमा सहभागी गराइनेछ, जसअन्तर्गत एक भाग्यशाली विजेताले टेस्ला मोडल ३ विद्युतीय कार प्राप्त गर्नेछन् ।

आफ्नो २५ वर्षभन्दा बढीको अनुभवलाई आधुनिक डिजिटल प्रविधिसँग जोड्दै चाँदीको स्वामित्वलाई थप सरल र सर्वसुलभ बनाउन यो कदम चालिएको हिमालयन बुलियन कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्षका अनुसार यो प्रविधिमार्फत ग्राहकहरूलाई अन्त्यमा कुनै डिजिटल अंक नभई भल्टमा सुरक्षित राखिएको वास्तविक भौतिक चाँदी नै हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  १० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।