काठमाडौँ । चाडपर्व नजिकिँदै जाँदा बजारमा किनमेलको चहलपहल बढेको छ । दसैँ, तिहार र छठजस्ता ठूला पर्वमा नयाँ कपडा, जुत्ताचप्पल, घरायसी सामान, भान्साका सामग्रीदेखि उपहारका वस्तुसम्म खरिद गर्नुपर्ने भएकाले उपभोक्ताको खर्चसमेत बढ्ने गर्छ ।
यस्तो अवस्थामा सीमित आम्दानी भएका तथा मध्यमवर्गीय परिवारका लागि सस्तो मूल्यमा दैनिक आवश्यकता पूरा गर्न सकिने बजार महत्वपूर्ण विकल्प बन्दै आएका छन् ।
काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, महाबौद्ध, भृकुटीमण्डप खुला बजार, नयाँ बानेश्वर सस्तो बजार, लगनखेलको मिनिबजार लगायतका स्थान लामो समयदेखि कम मूल्यमा सामान खोज्ने उपभोक्ताका प्रमुख गन्तव्यका रूपमा परिचित छन् । ठूला सपिङ मल र ब्रान्डेड पसलको तुलनामा यस्ता बजारमा एउटै वस्तु विभिन्न मूल्यमा पाइने, बार्केनिङ गर्न सकिने र आफ्नो बजेटअनुसार सामान छान्न सकिने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गरेको छ ।
विशेषगरी दसैँजस्ता चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा किन्नुपर्ने, बालबालिकाका लागि जुत्ताचप्पल तथा अन्य सामग्री खरिद गर्नुपर्ने र आफन्त तथा साथीभाइका लागि उपहारसमेत लैजानुपर्ने हुँदा न्यून तथा मध्यम आय भएका परिवारलाई सस्तो बजारले ठूलो राहत दिने गरेको छ ।

बानेश्वर जस्तो बजारका व्यापारी साबित्री भुजेलका अनुसार दसैँको किनमेलको मुख्य समय सुरु भएसँगै केही दिनयता ग्राहकको आवागमन निरन्तर बढिरहेको छ । बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि कपडा खरिद गर्ने ग्राहक उल्लेख्य रहेको उनले बताए ।
’दसैँ नजिकिँदै गएपछि कपडा किन्न आउने ग्राहक दिनप्रतिदिन बढिरहेका छन् ।’ उनले भनिन्, ‘तर यस वर्ष बाढीका कारण महँगी बढी हुँदा व्यापार कम भएको छ ।’
नेपाली समाजमा दसैँमा नयाँ कपडा लगाउने चलन रहेकाले पनि अन्य समयको तुलनामा चाडपर्वको समयमा कपडाको कारोबार बढ्ने गरेको व्यापारी अशोक मगरले बताए ।
ग्राहकको संख्या बढेसँगै सामान देखाउने, रुचिअनुसार कपडा छनोट गराउने, मूल्य बताउने र बिक्री व्यवस्थापन गर्न व्यापारीलाई थप व्यस्त हुनुपरेको उनको भनाइ छ ।

बजारमा कपडासँगै जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको उपस्थिति पनि बढेको छ । एउटै स्थानमा विभिन्न प्रकारका सामान पाइने र आफ्नो बजेटअनुसार वस्तु छनोट गर्न सकिने भएकाले खुला बजार ग्राहकको रोजाइमा पर्ने गरेको व्यापारीहरू बताउँछन् ।
विशेषगरी सीमित आम्दानी भएका परिवारका लागि चाडपर्वको समयमा खुला बजार सहज विकल्प बन्ने गरेको उनीहरूको भनाइ छ । काठमाडौँ उपत्यकाका खुला बजार तथा सडक किनारका रात्रिकालीन पसलमा ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा कपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहक आकर्षित हुने गरेका छन् ।
दसैँसँगै मौसममा पनि क्रमिक परिवर्तन आउन थालेकाले न्यानो कपडाको मागसमेत बढ्न थालेको व्यापारी हरिराम भण्डारीले बताए । ज्याकेट, स्वेटर, ट्र्याकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको संख्या पछिल्ला दिनमा बढ्दै गएको उनको भनाइ छ ।
‘ठूला व्यापारिक केन्द्रको तुलनामा सडकपेटीका पसल र खुला बजारमा लुगाकपडासहितका सामान केही सस्तो पाइन्छ । त्यसैले पनि ग्राहकको आकर्षण खुला बजारतर्फ बढी देखिन्छ,’ उनले भने ।
सस्ता तथा खुला बजार केवल किनमेल गर्ने स्थान मात्र नभई सीमित आम्दानीमा चाडपर्वको आवश्यकता पूरा गर्ने मध्यमवर्गीय परिवारका लागि खर्च व्यवस्थापनको महत्वपूर्ण आधार बन्दै गएका छन् । यस्ता बजारलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सके महँगीको समयमा सर्वसाधारणले अझ बढी राहत पाउने देखिन्छ ।

यस्तो अवस्थामा सस्तो तथा खुला बजारमा उपभोक्ताले आफ्नो बजेटअनुसार सामान खोज्न पाउने भएकाले केही राहत मिल्ने गरेको छ । एउटै प्रकारका कपडा वा जुत्ताचप्पल फरक–फरक मूल्यमा उपलब्ध हुने भएकाले उपभोक्ताले पसलपिच्छे मूल्य बुझेर आफूलाई उपयुक्त वस्तु छनोट गर्न सक्छन् । विशेषगरी बजारमा एकै क्षेत्रमा पाइने भएकाले उपभोक्ताका लागि किनमेल सहज हुने गरेको छ ।







