प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ


काठमाडौँ । काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको उक्त अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

उहाँका अनुसार सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका सवारीसाधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुव्र्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी परिसरका अनुसार विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका नौ जना कसुरदार र चालु मुद्दामा फरार रहेका सात जना प्रतिवादीसमेत पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।