काठमाडौँ । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ ।
दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घर घरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो ।
धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजइतबारदेखि १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आइतबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आइतबारै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ ।








