काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत मंसिर २ गतेदेखि सिटिजन्स सुपर ५० निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो।
सोमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
निष्काशन बन्द छिटोमा मंसिर ७ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर १६ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।
योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ। यसको अवधि १० वर्षको रहेको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।








