काठमाडौँ। अनलाइन किनमेललाई थप आकर्षक र किफायती बनाउने उद्देश्यसहित दराज नेपालले यस वर्षको ‘११.११ सेल’ सञ्चालन गर्ने भएको छ। ‘बिगेस्ट सेल अफ द इयर’ नारासहित नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, निःशुल्क डेलिभरी तथा विभिन्न आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।
दराज नेपालका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी ल्याइएको यस अभियानमा विभिन्न ब्रान्डका सामानमा विशेष छुट, दैनिक फ्ल्यास सेल, क्रेजी प्राइस ड्रप र बैंक तथा डिजिटल वालेटमार्फत भुक्तानी गर्दा थप बचत गर्ने अवसर उपलब्ध हुनेछ। ग्राहकले घरायसी सामग्रीदेखि इलेक्ट्रोनिक्स, फेसन, सौन्दर्य सामग्री तथा व्यक्तिगत प्रयोगका सामानसम्म एउटै प्लेटफर्मबाट खरिद गर्न सक्नेछन्।
विभिन्न ब्रान्डमा ८० प्रतिशतसम्म छुट
अभियान अवधिभर दराजका विभिन्न श्रेणी तथा साझेदार ब्रान्डका उत्पादनमा विशेष छुट उपलब्ध हुनेछ। प्लाटिनम साझेदार रोहतो, होनासा, मसल ब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलिग्रिम, पीसेफ र लभफेस ब्युटीलगायतका ब्रान्डले ७० प्रतिशतसम्म छुट दिनेछन्।
त्यस्तै, गोल्ड साझेदार ब्रान्डहाउस, पम्पर्स, वेदान्त र युनिलिभरले पनि ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछन्। सिल्भर साझेदार फ्यान्टेक, एम्परस्यान्ड, ब्रान्डहाउस फेसन, अस्टाभुल्फ, माटो नेपाल, जेबीएल र गोल्डस्टारलगायतका ब्रान्डमा ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।
ग्राहकलाई थप आकर्षित गर्न अभियानमा विभिन्न विशेष किनमेल कार्यक्रमसमेत समावेश गरिएको छ। नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर २ बिहान २ बजेसम्म विभिन्न श्रेणीका उत्पादनमा विशेष अफर उपलब्ध हुनेछ। त्यसपछि नोभेम्बर २ बिहान ११ बजेदेखि क्रेजी प्राइस ड्रप सुरु हुनेछ, जसअन्तर्गत छनोट गरिएका सामान आकर्षक मूल्यमा खरिद गर्न सकिनेछ।
नोभेम्बर ३ देखि ८ सम्म हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म फरक–फरक विषयमा आधारित ब्रान्ड रश आवर सञ्चालन हुनेछ। यसअन्तर्गत नोभेम्बर ३ मा इलेक्ट्रोनिक्स, नोभेम्बर ४ मा लाइफस्टाइल, नोभेम्बर ५ मा एफएमसीजी, नोभेम्बर ६ मा दराज च्वाइस प्राइड, नोभेम्बर ७ मा फेसन स्टार्टडे र नोभेम्बर ८ मा न्यू अराइभल्स सन्डे आयोजना गरिनेछ।
भौचर र बैंक भुक्तानीमा थप बचत
दराजले अभियान अवधिभर ग्राहकलाई दुई करोड रुपैयाँभन्दा बढीका भौचर उपलब्ध गराउने जनाएको छ। त्यस्तै, छनोट गरिएका विक्रेतामार्फत किनमेल गर्दा तीन हजार रुपैयाँसम्मको तिहार भौचर प्राप्त गर्न सकिनेछ।
दराज च्वाइसअन्तर्गत योग्य सामान तीनवटा खरिद गर्दा निःशुल्क डेलिभरी र चारवटा खरिद गर्दा एउटा सामान निःशुल्क पाउनुका साथै डेलिभरी शुल्कमा समेत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।
किनमेललाई थप किफायती बनाउन दराजले आठवटा बैंकसँग साझेदारी गरेको छ। योग्य क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २ हजार रुपैयाँसम्मको २० प्रतिशत छुट र योग्य डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १ हजार ५ सय रुपैयाँसम्मको १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।
यस अभियानमा हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंक सहभागी छन्। त्यस्तै, इसेवा तथा खल्तीमार्फत भुक्तानी गर्ने ग्राहकले विशेष रश आवर अफरअन्तर्गत एक हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन्।
थाइल्यान्ड भ्रमणसहित आकर्षक उपहार
छुट तथा भौचरका अतिरिक्त दराजले ग्राहकलाई विभिन्न आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्नेछ। न्यूनतम १ हजार १ सय ११ रुपैयाँको चेकआउट अर्डर गर्ने ११ जना भाग्यशाली ग्राहकले ५० हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्रीको बन्डल जित्न सक्नेछन्।
त्यस्तै, तोकिएको न्यूनतम खरिद रकम पूरा गर्ने ग्राहकले फिलिप्स नेपाल, मोडर्न मिराकल्स फर्निचर हब, पीसेफ, डट एन्ड की, स्विफ्ट इन, अल्टिमा लाइफस्टाइल, ब्रान्डहाउस, न्युलाइट, ब्लेस अनलाइन, रोहतो र पोसिलो फुड्सलगायतका ब्रान्डका दैनिक उपहार योजनामा सहभागी हुन सक्नेछन्।
अभियानमा थाइल्यान्ड भ्रमण जित्ने अवसर पनि समावेश गरिएको छ। अनर नेपालबाट ८ जना भाग्यशाली ग्राहकले थाइल्यान्ड भ्रमण जित्न सक्नेछन् भने ग्लेन नेपालबाट एक जना ग्राहकले पाँचदिने थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गर्नेछन्।
यसैगरी, मामाअर्थबाट सात जना ग्राहकले आइकोनिक हेयर आइरन गिफ्ट सेट, सफारी नेपालबाट दुई जना ग्राहकले ओम अध्याय रिट्रिट तथा नगरकोट सोल्टी रिसोर्टमा जोडीका लागि विशेष बसाइ जित्न सक्नेछन्। बिग डिजिटलबाट एक जना ग्राहकले आठ केजी क्षमताको फ्रन्टलोड वासिङ मेसिन र एयर फ्रायर तथा ब्रो स्टोरबाट एक जना ग्राहकले ५० इन्चको फोरके स्मार्ट एलईडी टिभी जित्ने अवसर पाउनेछन्।
दराजका अनुसार अभियानमा विभिन्न साझेदार ब्रान्डमार्फत दैनिक उपहार, विशेष अफर तथा अन्य मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिनेछ।
चाडपर्वको किनमेललाई सहज बनाउने लक्ष्य
तिहार र छठ परिवारसँगको आत्मीयता, उपहार आदानप्रदान तथा परम्परासँग जोडिएका महत्वपूर्ण पर्व हुन्। चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न सहज बनाउने र ग्राहकलाई थप बचतको अवसर प्रदान गर्ने उद्देश्यले ११.११ सेल ल्याइएको दराज नेपालले जनाएको छ।
कम्पनीका अनुसार आकर्षक छुट, बैंक तथा डिजिटल वालेट अफर, निःशुल्क डेलिभरी, फ्ल्यास सेल र विभिन्न उपहार योजनाले ग्राहकलाई चाडपर्वको किनमेल थप सहज र किफायती बनाउने अपेक्षा गरिएको छ।
‘बिगेस्ट सेल अफ द इयर’ अभियानअन्तर्गत ग्राहकले नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म दराजको वेबसाइट तथा मोबाइल एपमार्फत किनमेल गर्न सक्नेछन्।








