चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो मूल्य २०० रुपैयाँ


गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ, न्यू शक्ति नुनको २० रुपैयाँ र भानु नुनको नौ रुपैयाँ तोकेको छ । तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट ६० रुपैयाँदेखि २०० रुपैयाँसम्मपर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ ।

मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य २०० रुपैयाँ पर्छ । तल्लो क्षेत्रमा ३० रुपैयाँमा पाइने एक प्याकेट नुन साम्दोसम्म पु¥याउन ढुवानीमै १०० रुपैयाँ खर्च हुने स्थानीय निमा दोर्जेले बताए ।

“पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै रु १०० पर्छ । आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ । त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एकपोका नुनको मूल्य रु २०० पुग्छ”, उनले भने।

सामागाउँभन्दा केही तल वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो ८० रुपैयाँ पर्ने भएकाले एक प्याकेट आयोनुनको मूल्य रु १५० पर्ने गरेको छ । गाउँपालिका–५ बिहीमा भने प्रतिप्याकेट रु १०० मा नुन पाइने स्थानीय काल्देन छेवाङले बताए।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार  ०८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।