काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको दिन आन्तरिक विद्युत् माग पूरा गरेर करिब ५०० मेगावाट विद्युत् निर्यात गर्ने तयारी गरेको छ । प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मी पूजाको दिन पिक समयमा विद्युतको माग करिब एक हजार नौ सय मेगावाट पुग्ने अनुमान गरिएको छ ।
तर, अहिले मुलुकको कुल विद्युत् उत्पादन करिब दुई हजार आठ सय मेगावाट हाराहारीमा रहेकाले आन्तरिक माग पूरा गरेर विद्युत् निर्यात गर्न सकिने अवस्था रहेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता अच्युत बाबु घिमिरेका अनुसार तिहारको समयमा विद्युतको माग र आपूर्तिबीच सन्तुलन रहने देखिएको छ । प्राधिकरणले उपलब्ध विद्युत् उत्पादन क्षमताको पूर्ण उपयोग गर्दै उपभोक्तालाई नियमित विद्युत् आपूर्ति गर्ने र अतिरिक्त विद्युत् निर्यात गर्ने योजना बनाएको उनले बताए ।
यसका लागि प्राधिकरणका आफ्नै विद्युत् आयोजना, निजी क्षेत्रका जलविद्युत् आयोजना तथा सहायक कम्पनीमार्फत सञ्चालित आयोजनालाई पूर्ण तयारी अवस्थामा राखिएको घिमिरेले बताए । उनका अनुसार तिहारको समयमा उपलब्ध सबै उत्पादन स्रोतलाई व्यवस्थित रूपमा परिचालन गरिनेछ ।
“तिहारमा माग र आपूर्तिबीच सन्तुलन नै देखिन्छ । पिक समयमा करिब १९ सय मेगावाट डिमान्ड हुने देखिएको छ । अहिले उत्पादनचाहिँ करिब २८ सय मेगावाट हाराहारीमा रहेको छ,” उनले भने, “प्राधिकरणको आफ्नै प्लान्ट, निजी क्षेत्रको प्लान्ट र अन्य सहायक कम्पनीलाई पूर्ण तयारीमा राखेका छौँ ।”
गत भदौ १० गते रसुवा, नुवाकोटको भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब साढे चार सय मेगावाट विद्युत् उत्पादन प्रभावित भएको थियो । बाढीका कारण उत्पादनमा ठूलो क्षति पुगेको पनि चाडपर्वमा अपुग हुने अवस्था भने नरहेको प्रवक्ता घिमिरेको दाबी छ ।
बाढीबाट भएको क्षतिका बाबजुद पनि मुलुकको विद्युत् प्रणाली सबल अवस्थामा रहेको दाबी उनको छ । उपलब्ध उत्पादन क्षमता र विद्युतको मागलाई विश्लेषण गर्दा लक्ष्मी पूजाको दिनसमेत आन्तरिक खपत धान्न कुनै समस्या नहुने उनको भनाइ छ ।
“रसुवा बाढीले साढे चार सय मेगावाट जति क्षति पुगेको छ । तर, त्यति हुँदा हुँदै पनि हामी सबल नै रहेका छौँ । यसो हुँदा पिक समयमा पनि हामीले करिब पाँच सय मेगावाट निर्यात गर्ने तयारी गरेका छौँ,” उनले भने । कुनै आयोजनामा उत्पादन घटेमा वा प्रणालीमा समस्या देखिएमा अन्य उपलब्ध स्रोतबाट आपूर्ति व्यवस्थापन गर्ने तयारी गरिएको उनले बताए ।
उनका अनुसार विद्युत उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीलाई पनि चुस्त राख्ने गरी तयारी भइरहेको छ । पर्याप्त विद्युत् उत्पादन भए पनि प्रसारण लाइन वा वितरण प्रणालीमा समस्या आएमा उपभोक्तासम्म विद्युत पु¥याउन कठिन हुन सक्ने भएकाले ती संरचनाको अवस्थालाई समेत ध्यान दिइएको छ ।
“तिहारको समयमा विद्युत माग र आपूर्तिबीच असन्तुलन देखिएमा तत्काल आवश्यक कदम चाल्ने गरी प्राविधिक जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ,” उनले भने ।
प्राधिकरणले विद्युत् आपूर्ति व्यवस्थापनमा कुनै समस्या आउन नदिन उत्पादन केन्द्रदेखि वितरण केन्द्रसम्मको अवस्थालाई नियमित निगरानी गर्ने जनाएको छ । विद्युत् माग अनुमानभन्दा बढी भएमा उपलब्ध उत्पादन स्रोतको परिचालन र प्रणालीको अवस्थाअनुसार आपूर्ति व्यवस्थापन गरिनेछ ।
यद्यपि वास्तविक विद्युत् निर्यातको परिमाण भने लक्ष्मी पूजाको दिनको वास्तविक माग, आयोजनाको उत्पादन तथा प्रसारण प्रणालीको उपलब्धतामा निर्भर रहने समेत प्रवक्ताको भनाई छ । प्राधिकरणले आन्तरिक खपतलाई पहिलो प्राथमिकतामा राखेर अतिरिक्त विद्युत् निर्यात गर्ने तयारी गरेको जनाएको छ ।






