जनकपुरधाम । जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन भएको अयोध्या–जनकपुरधाम रेलसेवामार्फत यहाँ आएका करिब ४०० भारतीय तीर्थयात्रीलाई भव्य स्वागत गरिएको छ ।
नेपाल रेल्वे कम्पनीद्वारा जनकपुरधाम रेल्वे स्टेसनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा तीर्थयात्रीलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वागत गरे ।
सो अवसरमा श्रममन्त्री यादवले जनकपुरधाम–अयोध्या रेल सेवा दुई देशबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण माध्यम भएको बताए।
उनले नेपाल–भारतबीचको यस रेल सेवामार्फत धार्मिक पर्यटन प्रर्वद्धन तथा व्यापार, रोजगारी र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
जनकपुरधाम र अयोध्याबीचको सम्बन्ध यातायातमा मात्र सीमित नभई पारिवारिक, सांस्कृतिक, धार्मिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सरयू–कमला एक्सप्रेसले दुई देशका नागरिकबीचको आत्मीयतालाई थप मजबुत बनाउने बताए।
उनले भने, “अयोध्या र जनकपुरधामबीचको सम्बन्ध दुई सहरको सम्बन्ध मात्र होइन, यो बेटी–ज्वाइँ, परिवार, संस्कृति, परम्परा, आस्था र आत्मीयताको सम्बन्ध हो ।”








