एक सातामै २६ हजारले सस्तियो सुनः लगानी गरेकालाई झट्का, किन्नेका लागि अवसर !


काठमाडौँ । पछिल्लो एक सातामा सुनको मूल्य २६ हजारले सस्तिएको छ । सुनमा आएको गिरावटले उच्च मूल्यमा सुन खरिद गर्नेका लागि झट्का लागेको छ । केही महिना अघि ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य अहिले ९३ हजार ९०० रुपैयाँले घटेर २ लाख ४५ हजारमा झरेको हो ।

यसरी सुनको मूल्यमा गिरावट आउँदा उच्च मूल्यमा सुन किन्नेका लागि अहिले झण्डै १ लाख रुपैयाँ घाटा लागेको छ । यता सुन किन्ने सोच बनाएकाहरुका लागि भने अवसर बनेको छ । अहिले धेरै तोला सुन किन्नेलाई यो गिरावटले धेरै नै फाइदा पुग्छ । विवाहका लागि ५/१० तोला सुन किन्नुपर्ने परिवारलाई मूल्यमा आएको यो गिरावटले ठूलो राहत दिएको छ । पहिले छुट्ट्याएको बजेटमै बढी परिमाणमा सुन किन्न सकिने अवस्था बनेको छ ।

पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत कात्तिक २७ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा एक हप्तापछि मंसिर ४ गतेसम्म आइपुग्दा सुनको मूल्य २६ हजार ३०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

महासंघका अनुसार, गत कात्तिक २९ गते आइतबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेर उक्त दिन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, कात्तिक ३० गते सोमबार १ हजार १०० रुपैयाँले घटेर २ लाख ६९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, मंसिर १ गते अर्थात् मंगलबार पनि सुनको मूल्य १ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंसिर २ गते बुधबार पनि सुनको मूल्यमा उच्च गिरावट आएको थियो । उक्त दिन अघिल्लो दिनको तुलनामा ६ हजार ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भयो ।

त्यस्तै, मंसिर ३ गते बिहीबार पनि सुनको मूल्य ३ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन मंसिर ४ गते शुक्रबार पनि सुन तोलामा १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुनको मूल्यमा आएको गिरावटको प्रमुख कारण ब्याजदर र अमेरिकी डलरको मजबुती रहेको विश्लेषण गरिएको छ । पछिल्लो समय सुनको मूल्यमा देखिएको तीव्र गिरावटको मुख्य कारण अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले प्राप्त गरेको सफलता रहेको विश्लेषकहरूको भनाइ छ । डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) बहुमत प्राप्त गरेको छ । रिपब्लिकन पार्टीको वर्चस्व कायम रहँदै आएका टेक्सस, ओहायो र क्यान्ससमा समेत सीनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत आएपछि सेयर बजार उकालो लाग्यो । सेयर बजारमा लगानी बढेसँगै सुरक्षित सम्पत्ति मानिने सुनको भाउमा पहिरो गएको जानकारहरू बताउँछन् ।

यो साता सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा यो शुक्रबार सम्ममा चाँदी तोलामा ५९० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार गत शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ हजार ११० रुपैयाँमा झरेको हो ।

साताको पहिलो कारोबार दिन आइतबार चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार पनि चाँदी तोलामा ८० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार पनि चाँदी तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार एकैदिन चाँदी तोलामा २२५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भई यो साताको कारोबार बन्द भएको हो ।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।