बुक बिल्डिङ्गबाट आईपीओ जारी गर्ने प्रकृयामा रहेको सर्वोत्तम सिमेन्टले साढे ६८ करोड लाभांश बाँड्दै

0
Shares

सर्वसाधारणलाई बुक बिल्डिङ्गबाट प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रकृयामा रहेको सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल २०% लाभांश वितरण गर्दैछ ।

सिमेन्टले आफ्नै केन्द्रीय कार्यालय तिनकुनेस्थित न्यौपाने टावरको पाँचौ तल्लामा बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरेको छ ।
उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी १.००६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पारित गर्न लागेको हो ।

यसअनुसार कम्पनीले गत आव २०७७/७८ सम्मको नाफाबाट चुक्ता पूँजीको १९.११८ प्रतिशत बराबरको ६५ करोड बोनस शेयर र कर प्रयोजन सहित ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद सहित कुल ६८ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।।

कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले लाभांश प्रस्ताव सहित अन्य एजेण्डाहरु पारित गर्न असार १० गते बिहीबार विशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो ।

सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण हिस्सा मिलाउने र सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

साथै, उक्त संशोधनमा नियामक निकायको निर्देशन अनुसार आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी पनि दिनेछ ।

विशेष साधारण सभाबाट १९.११८ प्रतिशत बोनस पारित भएपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५ करोड रुपैयाँ नाघ्नेछ । कम्पनीको विगत ३ वर्षंको औसत प्रतिशेयर आम्दानी ५२ रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीको रिजर्भमा २ अर्ब ३१ करोड रहेको कम्पनीले जनाएको छ।

कम्पनीको २०७७ माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक बिल्डिङ्ग विधिबाट गर्ने निर्णय गरिसकेको छ ।

२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ । कम्पनीले निष्कासन गर्ने ६० लाख कित्ता आईपीओ मध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई ८ लाख कित्ता, कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता र अन्य सर्वसाधरणकालागि २५ लाख कित्ता छुट्ट्याइएको छ ।

सर्वोत्तम सिमेन्टको खानी पाल्पामा छ भने नवलपरासीमा उद्योग रहेको छ । चितवनको चुनढुंगा मिश्रणबाट उत्पादित क्लिंकर (धातुमल सिमेन्ट) देशका अन्य २० वटा उद्योगहरुले खरिद गर्ने गरेका छन् । यस उद्योगको वार्षिक उत्पादन क्षमता १०२५ करोड बोरा रहेको छ ।

सौरभ समूहको लगानी रहेको सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ । सिमेन्टले आफ्नो सिमेन्ट उद्योेगबाट ६० हजार बोरा प्रतिदिन उत्पादन गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।