
शेयर बजार सूचक मापक नेप्से साउन १० गते आइतबार ५४.३३ अंकले बढेर ऐतिहासिक उचाइमा पुगेको छ । आइतबार नेप्से ३ हजार ५८ दशमलव ६३ बिन्दुमा पुगेको हो । यो नेप्सेमा कायम भएको हालसम्मकै उच्च बिन्दु हो ।
बैंकिङ्ग इन्डेक्स साढे ३ प्रतिशतले बढेर सो सेक्टरमा उच्च कारोबार हुँदा कारोबार रकमका साथै नेप्सेमा ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि गत जेठ ३१ गते नेप्से सूचक ३०२६ अंकमा पुगेर रेकर्ड कायम रहेको थियो ।
अन्य सेक्टरमा बुल आउँदा समेत लामो समयदेखि स्थीर प्रायः रहेको बैंकिङ इन्डेक्स वाणिज्य बैंकहरुको गत आवको नाफा आंकलन हुन थालेपछि लाभांशमा आधारित लगानीका कारण बढेको हो । कोभिड संक्रमका कारण गरिएको निषेधाज्ञा र व्यवसाय विस्तार संकुचनका बाबजुत वित्तीय विवरण प्रकाशन गरेका बैंकहरुको नाफा बढेपछि लगानीकर्ता वाणिज्य बैंकको शेयरमा लगानी गर्न लालायित भएका हुन् ।
बजार सूचक बढेसँगै आइतबार १४ अर्ब ३० करोड रुपैयाँको शेयर शेयर किनबेच भएको छ । कारोबारमा आएका म्युचुअल फण्ड र होटल सूचक बाहेक ११ वटा सूचक बढेका छन् । जलविद्युत उत्पादन र लघुवित्तमा १ प्रतिशत धेरैको वृद्धि देखिएको छ ।
आजको बजारमा नेपाल बैंकको सर्वाधिक साढे ४९ करोडको शेयर खरीद बिक्री भएको छ । ग्लोबल आइएमई, एनसीसी, एनआईसी एशिया बैंक, युनाइटेड मोदी हाइड्रोपावर, अरुण काबेली पावर, र नेशनल हाइड्रोको ३० करोड बढीको शेयर कारोबारमा आएको छ ।
यसदिन हिमालयन उर्जा, सपोर्ट लघुवित्त, राधी विद्युत, कालिका पावर, पञ्चकन्या माइ हाइड्रोपावर, युनिभर्सल पावर, जोशी हाइड्रोपावर, बिशाल बजार कम्पनी र ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसदिन अधिकांश म्युचुअल फण्डको इकाईमूल्य घटेको छ । कुमारी इक्वीटी फण्ड, लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी डिबेञ्चर ८६, र ओरियन्टल होटलको मूल्य ३ प्रतिशत बढीले घटेको छ ।
यसदिन २२३ कम्पनीका ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता शेयर १ लाख ४० हजार ४७ पटक खरीद बिक्री हुँदा कारोबार रकम १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँको कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया