मध्य भोटेकोशीको शेयर हालसम्म आधा बिक्री भएको छ । कोरोना महामारीका कारण निषेधाज्ञा सुरु भएपछि स्थगित भएर फेरि साउन ५ गतेदेखि बित्री थालिएकोमा साउन १० गतेसम्ममा आधा बिक्री भएको हो ।

आइतबार साँझसम्म १३ हजार ७५९ सिन्धुपाल्चोकबासीले २९ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरीका लागि आवेदन दिएका छन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) तथा आश्वाबाट गरी कुल २९ करोड ५६ लाख ३२ हजार ७०० रुपैयाँ बराबरको २९ लाख ५६ हजार ३२७ कित्ताको माग आवेदन परेको जनाएको हो ।
यो स्थानीयमा जारी गरिएको ६० लाख कित्ता शेयरको ४९.२७ प्रतिशत मात्र सब्सक्राइब हो ।
आइतबार मात्रै कम्पनीको आइपीओ खरीदका लागि ३ हजार ७८३ वटा आवेदन मार्फत ८ करोड ६ लाख २१ हजार रुपैयाँ बराबरको ८ लाख ६ हजार २१० कित्ताको माग भएको छ । जसमध्ये आश्वा मार्फत १ हजार ४२६ वटा आवेदनबाट ३ लाख २१ हजार ९१० कित्ता र भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) मार्फत २ हजार ३५७ वटा आवेदनबाट ४ लाख ८४ हजार ३०० कित्ताको माग भएको बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको हो ।
हालसम्म कुल १३ हजार ७५९ सिन्धुपाल्चोकबासीले २९ करोड ५६ लाख रुपैयाँ बराबरको आवेदनमा आश्वा मार्फत ५ हजार ४१९ वटा आवेदनबाट १२ लाख ४८ हजार ३२० कित्ता र भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) मार्फत ८ हजार ३४० वटा आवेदनबाट १७ लाख ८ हजार ७ कित्ताको माग भएको छ ।
क्यापिटलका अनुसार अब आईपीओ छिटोमा साउन १७ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भने ढिलोमा साउन ३२ गतेसम्म खुला रहनेछ । उक्त मितिभन्दा अगावै सबै शेयर बिक्री भएमा बीचमा नै सार्वजनिक सूचना मार्फत निष्काशन बन्द हुन सक्नेछ ।
आईपीओमा सिन्धुपाल्चोक जिल्लाबासीले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । कोराना संक्रमण बढेपछि विभिन्न जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भएपछि स्थानीयलाई बिक्री भैरहेको शेयर बीचमा नै स्थगित गरिएको थियो । स्थगित आइपीओ बिक्री साउन ५ गते मंगलबारदेखि पुनः सुरु गरिएको हो ।
कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको दरमा ६० लाख कित्ता शेयर आयोजना प्रभावितका लागि निष्काशन सुरु गरेको हो । आयोजना प्रभावित क्षेत्र सिन्धुपालचोकका भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि ६० लाख कित्ताको ३० प्रतिशतले हुने १८ लाख कित्ता शेयर निष्काशन गरेको हो ।
कुल निष्काशनको बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि निष्काशन गरिएको हो ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।
स्थानीय र आयोजना प्रभावितलाई शेयर निष्काशन गरि सकेपछि सर्वसाधारणका लागि ९० लाख कित्ता शेयर निष्काशन हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया