
नेपाल चेम्वर अफ कमर्सले कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्र्की समक्ष संसदमा विचाराधीन आर्थिक विधेयकहरु शीघ्र पारित गरिनुपर्ने माग गरेको छ ।
आइतबार कानूनमन्त्री कार्र्की समक्ष भेटवार्ता गर्दै चेम्वर प्रतिनिधि मण्डलले खुला बजारको सन्दर्भमा कालो बजार ऐनको सान्दर्भिकताको नरहेकोले सो ऐन खारेज हुनुपर्ने,. नगद ओसार पोसार सम्वन्धी कानूनी व्यवस्था नभएकोले निजी क्षेत्रलाई यदाकदा समस्या आइपर्ने भएकोले सोको कानूनी व्यवस्था गरिनुपर्ने तथा प्रविधिको दुरूपयोग नियन्त्रणका लागि आवश्यक कानून तर्जुमा गरिनुपर्ने र घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्स सम्वन्धी कानूनी व्यवस्था हुनुपर्ने र लगानीको लागि स्रोतको वैधतालाइ खुकुलो बनाउनुपर्ने सुझाव प्रस्तुत गरेको छ ।
यसका अतिरिक्त चेम्वर अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराउन माग गरेको छ ।
नेपाल चेम्वर मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा कानून,न्याय तथा ससदीय व्यवस्था मन्त्री समक्ष आर्थिक क्षेत्रसँग सम्वन्धित कानून तर्जुमा गर्दा नेपाल चेम्वर अफ कमर्सलाइ पनि संलग्न गर्न आग्रह गरेको छ ।
सो अवसरमा कानूनमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रको अहम भूमिका रहने बताउँदै चेम्वरबाट प्रस्तुत सुझावलाइ गम्भिरतापूर्वक लिएको बताए । उनले भने “हाम्रो पहिलो प्राथमिकता मुलुकको आर्थिक प्रगति नै हो । यस सन्दर्भमा सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको छ ।”
उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वर कार्य समिति सदस्य देवेन्द्रभक्त श्रेष्ठ, सन्तोष पाण्डे, दीपककाजी तुलाधर, निरज राई, र राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया