मध्य भोटेकोशीको शेयर शुक्रबारसम्म कति बिक्यो ?

0
Shares

मध्यभोटेकोशी जलविद्युत आयोजनाको शेयरमा शुक्रबारसम्म ५१ हजार १५९ वटा आवदन परेको छ ।

आयोजना प्रभावितहरुबाट ४ हजार ९८२ वटा र सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट ४६ हजार १७७ वटा आवेदन परेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार १ अर्ब ९ करोड ९१ लाख २ हजार ८०० रुपैयाँ बराबरको १ करोड ९ लाख ९१ हजार २८ कित्ता शेयरका लागि आवेदन दिएका छन् । भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) र आस्वा प्रणालीबाट उल्लेखित संख्यामा शेयर माग भएको हो ।

जसमा ४ हजार ९८२ आयोजना प्रभावितहरुबाट जम्मा ८ लाख ६० हजार ६८१ कित्ता शेयर माग गरेका छन् । आयोजना प्रभावित क्षेत्र सिन्धुपालचोकका भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि ६० लाख कित्ताको ३० प्रतिशतले हुने १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

निष्काशित ६० लाख कित्ता मध्ये ७० प्रतिशत अर्थात ४२ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि निष्काशन गरिएकोमा यो क्षेत्रका ४६ हजार १७७ आवेदकले १ करोड १ लाख ३० हजार ३४७ कित्ता शेयर माग गरेका छन् । यो सो क्षेत्रका बासिन्दाका लागि निष्काशन भएको शेयर ५९ लाख ३० हजार ३४७ कित्ताले ओभर सब्स्क्राइब भएको हो ।

सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट उच्च माग आएपनि आयोजना प्रभावितलाई छुटटाएको मध्ये आधा धेरै (५२%) बिक्री हुन बाँकी रहेपछि आइतबार आवेदन दिने अन्तिम म्याद रहेको कम्पनीको आइपीओमा बिक्री प्रबन्धकले उनीहरुको सहभागिता बढाउन म्याद थप गरेको छ ।

कम्पनीको आयोजना प्रभावित र समग्र सिन्धुपाल्चोकबासीलाई ६० लाख कित्ता शेयर निष्काशन गरिरहेको छ । आईपीओमा सिन्धुपाल्चोक जिल्लाबासीले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । कोराना संक्रमण बढेपछि विभिन्न जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भएपछि स्थानीयलाई बिक्री भैरहेको शेयर बीचमा नै स्थगित गरिएको थियो । स्थगित आइपीओ बिक्री साउन ५ गते मंगलबारदेखि पुनः सुरु गरिएको हो ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको दरमा ६० लाख कित्ता शेयर आयोजना प्रभावितका लागि निष्काशन सुरु गरेको हो ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । स्थानीय र आयोजना प्रभावितलाई ६० लाख कित्ता शेयर निष्काशन गरि सकेपछि सर्वसाधारणका लागि ९० लाख कित्ता शेयर निष्काशन हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ श्रावण २०७८, शुक्रबार  २२ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।