महासंघ वरिष्ठ उपाध्यक्ष ढकालले सेबोनको बोर्ड बैठकमा प्रतिनिधित्व गरेपछि किनेका थिए सर्वोत्तमको शेयर


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले धितोपत्र बोर्डको सञ्चालक बनेपछि आफ्ना भाईको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको खुलेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अनुसार ढकाललाई २०७७ मंसिर ३० गते धितोपत्र बोर्डको सञ्चालक तोकिएको थियो । ढकालले २०७७ माघ ११ गतेदेखि धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा सहभागिता जनाएका थिए ।

नोटबजारलाई प्राप्त ओभर दी काउण्टर (ओटीसी) मार्केटमा भएको कारोबार विबरणका आधारमा ढकालले २०७७ माघ २६ गते आफ्ना सहोदर भाई हेमराजको नाममा सर्वोत्तमको २ लाख कित्ता शेयर खरिद गरेको देखिन्छ । यस आधारमा ढकाल सञ्चालक सिफारिस भएको ५५ दिन र धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा पहिलो पटक सहभागिता जनाएको १६ औं दिनमा सर्वोत्तमको शेयर खरिद गरेका थिए ।

यति मात्र नभई हेमराजको नाममा रहेको २ लाख कित्ता शेयर मध्ये १ लाख कित्ता शेयर २०७७ चैत १० गते हाथवे इन्भेष्टमेण्टलाई बिक्री गरेको तथ्य फेला परेको हो । बाँकी रहेको १ लाख कित्ता शेयरमा १९.११८ प्रतिशत बोनस थप गर्दा हाल ढकालको नाममा १ लाख १९ हजार ११७ कित्ता शेयर कायम छ ।

आफू बोर्ड सञ्चालक भए पछि यस्तै विवाद उत्पन्न हुँदा माउण्टेन इनर्जीको सञ्चालक पदबाट महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले राजीनामा गरेका थिए । त्यस पछि उनले आफ्नो नाममा नभई भाई हेमराज ढकालको नाममा सर्वोत्तमको शेयर खरिद तथा बिक्री गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघबाट धितोपत्र बोर्डको सञ्चालक समितिमा वस्तुगत तर्फका उपाध्यक्षले प्रतिनिधित्व गर्दै आएका थिए ।

भवानी राणा महासंघको अध्यक्ष बनेका बेला वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई बोर्ड सञ्चालक प्रस्ताव गरिएकोमा अर्का उपाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले आफुले बोर्डमा जान पाउनु पर्ने अडान लिए पछि भवानी राणाले तत्कालिन वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई पहिलो पटक वरिष्ठ उपाध्यक्षको हैसियतमा धितोपत्र बोर्डको सञ्चालकका रुपमा पठाएकी थिइन् ।

अहिले गोल्छा अध्यक्ष बने पछि महासंघले पुरानै शैलीमा वस्तुगततर्फका उपाध्यक्षलाई बोर्डमा प्रतिनिधित्व गराउने तयारी सुरु हुनै लाग्दा ढकालले गोल्छा यस अघि बोर्डको सञ्चालक बनेको नजिर देखाउँदै आफु बोर्डको सञ्चालक बन्ने कसरत गरेका थिए । जसलाई महासंघ नेतृत्वले अस्वीकार गर्न सकेको थिएन ।

अर्कातिर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासँगको गहिरो मित्रताका कारण पनि ढकाल बोर्डको प्रतिनिधि बन्न मलजल पुगेको थियो । उनीहरुको सम्बन्ध ढुङ्गाना नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा व्यवस्थापन विभागको प्रमुखको रुपमा कार्यरत रहँदादेखि नै मजवुत बनेको थियो । त्यस बेला ढकालले इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) को कारोबार बिस्तार गर्दा राष्ट्र बैंकका तर्फबाट विभागका प्रमुख रहेका ढुङ्गानाले सहयोग गर्ने गरेका थिए ।

तिनै ढुङ्गाना बोर्डको अध्यक्ष बने पछि बोर्डको सञ्चालक बन्न चाहना देखाएका ढकाललाई ढुङ्गानाले पनि सहयोग गरेका थिए । ढुङ्गाना अध्यक्ष र ढकाल सञ्चालक भएर विगतको झैं थप सहकार्य गर्दै अघि बढ्ने योजनामा भएको दुई जनाको सहमति अहिले सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा आएर उदाङ्गिएको छ ।

सर्बोत्तमको शेयर कारोबारको तथ्य वाहिर ल्याउन धितोपत्र बोर्ड कर्मचारी संगठनको अनुरोध

सर्वोत्तमको शेयर प्रकरणमा ढकाल बचाउमा महासंघ, तथ्य बङ्ग्याएर विज्ञप्ति

सर्वोत्तमको शेयरको भित्री कारोबार प्रकरण र पाठक विरुद्धको अपराध

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।