सर्वोत्तमको शेयरको भित्री कारोबार प्रकरण र पाठक विरुद्धको अपराध


धितोपत्र बजार नियमनको भूमिकामा रहेका अधिकारीहरूले शेयरको स्वार्थ बाझिने कारोबार गरेको प्रकरण यतिबेला चर्चामा छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, सञ्चालक चन्द्र प्रसाद ढकाल र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले एका घरका परिवारका सदस्यको नाममा आइपिओ जारी हुने क्रममा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको समाचार हिमाल खबर अनलाइन संस्करणले गत साता प्रकाशित गरेको थियो ।

पत्रकार रमेशकुमारले ब्रेक गरेको उक्त समाचारमा बुक बिल्डिङ प्रणालीबाट पहिलो पटक आइपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको संस्थापक शेयरमा स्वार्थ बाझिने गरी बोर्ड अध्यक्ष ढुंगाना, बोर्ड सदस्य चन्द्र प्रसाद ढकाल र नेप्से प्रमुख साउदले परिवारका सदस्यको नाममा ठूलो रकम लगानी गरेका थिए।

शेयरको प्राथमिक निष्कासनको प्रक्रिया सुरु भएपछि अमेरिकामा बसोबास गर्दै आएकी ढुंगानाकी छोरी रेबिकाको नाममा बोर्डका अध्यक्ष ढुङ्गानाले ११ हजार ९१२ कित्ता शेयर लगत कायम गराएको भेटिएको हो । यो शेयर किनेको हो वा कम्पनीका तर्फबाट उपहार स्वरुप दिइएको हो भन्ने विषय अझै निष्कर्षमा पुगिसकेको छैन ।

उता नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्नै भाई एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालको नाममा एक लाख १९ हजार ११७ कित्ता शेयर लगत कायम गराएका छन् । ओटीसी बजारबाट शेयर नामसारी गर्ने समयमा २ लाख कित्ता शेयर हेमराजको नाममा ल्याउन सर्वोत्तमको सञ्चालक समितिले निर्णय गरेको भए पनि अन्तिम पटकको शेयरधनी दर्ता पुस्तिकामा भने ढकालको नाममा १ लाख १९ हजार ११७ कित्ता शेयर भेटिएको हो ।

नेप्से प्रमुख साउदकी श्रीमती सुशिला कुमारी बोहोराको नाममा पनि ११ हजार बोहोराको नाममा ११ हजार ९१२ कित्ता शेयर खरिद भएको देखिन्छ ।

यो तथ्यलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा पछिल्लो पटक कायम भएको शेयरधनी दर्ता पुस्तिकाको विवरणले पनि प्रष्ट पार्छ ।

कानुनी अष्पष्टताका बाबजुद पनि यो प्रकरणमा बोर्ड अध्यक्ष ढुंगाना , नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका बोर्ड सदस्य ढकाल र नेप्से प्रमुख साउदको नैतिकतामा गंभिर प्रश्न उठेको छ । किन भने तिनैजना पात्र सरकारले धितोपत्र लगानीकर्ता र बजारको नियमन र संरक्षणका लागि नियुक्त गरेका पात्र हुन् । धितोपत्रको भित्री कारोबारमा संलग्न तीनै जना पात्र कानुनी र नैतिक रुपमा दोषी रहेको कानुनका जानकारले सार्वजनिक रुपमै भन्दै आएका छन् ।

ढुंगाना,ढकाल र साउदले धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९१ को बर्खिलाप हुने गरी कसुर गरेको र उनीहरु कानुनी सजायको दायरामा परेको वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डितले नोट बजारमा प्रकाशित लेखमा उल्लेख गरेका थिए ।

तर, नाम चलेका र आफुलाई मुलधारको सञ्चार माध्यम भनेर चिनाउने सञ्चार गृहले सर्वोत्तमको यो शेयर प्रकरणमा भेटिएका सत्य तथ्य विबरणलाई वास्तविक रुपमा पाठकसम्म पुर्याउने पहल गरेनन् । नियामक निकायमा बसेकाहरुले सर्वोत्तम सिमेन्टको शेयरमा गरेको भित्री कारोबार जस्तो गंभिर विषयको तथ्य र आरोपितको भुमिकालाई तोडमोड गर्ने अपराध सञ्चार माध्यमहरुबाट भएको छ ।

हिमाल खबरले प्रकाशित गरेको पहिलो समाचार ब्रेकमै कम प्राथमिकतामा परेको महासंघका वरिष्ठ उपाध्यक्ष एवं धितोपत्र बोर्डका सदस्य चन्द्र प्रसाद ढकाल र उनको स्वार्थ बाझिएको तथ्य यसपछि मुलधार भनिने सञ्चार माध्यममा प्रकाशित भएका छैनन् ।

बोर्डका सञ्चालकको हैसियतमा रहेका चन्द्र ढकालको व्यवसायीक उत्तराधिकारी एंव सहोदर भाइ हेमराज ढकालको नाममा १ लाख १९ हजार ११७ कित्ता शेयर कायम हुनु आफैंमा संवेदनशील विषय हो । यस्तो संवेदनशील विषयलाई ठूला अनि प्रतिष्ठित भनिने सञ्चार माध्यमले रहस्यमय ढंगबाट प्रकाशन नगरी उल्टै तोडमोडसम्म गर्ने प्रयासहरु भएका छन् ।

कानुनी रुपमा बराबर दोषी र समान नैतिक पतनको घेरामा पर्ने तीन पात्रहरु मध्येबाट एक पात्रको नाम र भुमिकाको सूचना समाचार सामग्रीबाट एकाएक गायब पारिनु आम पाठक माथिको अन्याय र गम्भिर अपराध हो । विज्ञापन वा आर्थिक स्वार्थका कारण सञ्चार माध्यमले नियामक निकायमा बसेर इन्साइडर ट्रेडिङको मतियार बन्नेलाई ढाक्दै र छोप्दै जाने हो भने एक दिन पाठकहरुले छोप्नेहरुलाई नै नग्याइ दिने दिन टाढा छैन ।

सञ्चार माध्यमममा आएका सामग्रीका आधारमा नै तालुकदार निकाय अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेकोमा नियामक प्रमुखहरुले प्रष्टीकरण मन्त्रालयलाई बुझाईसकेका छन् । यो प्रकरणलाई मन्त्रालयले पनि तिनै ठूला अनि प्रतिष्ठित भनिने गरेका सञ्चार माध्यममा आएका सूचनाको आधारलाई बढी प्राथमिकता दिएको खण्डमा त्यसले निम्त्याउने नतिजाले मन्त्रालय पनि विवादमा तानिन सक्छ ।

सञ्चार माध्यमको भूमिका के हो ? भन्ने सम्बन्धमा पछिल्ला दिनहरुमा सञ्चार माध्यमबाट प्रवाह हुँदै आएका समाचारजन्य सामग्री माथि पनि बहस हुन थालिसकेको अवस्था छ । यस परिप्रेक्ष्यमा सञ्चार प्रतिष्ठान र त्यहाँ कार्यरत पत्रकारहरुले उत्तिकै गम्भिर भएर पाठकलाई सही सूचना दिनु पर्ने हुन्छ । समाचारको विषयमा जोडिएका पत्र र प्रवृत्तिलाई सञ्चार माध्यमले पक्षपोष गर्नु हुँदैन भन्ने सर्वोपरी मान्यतालाई हामीकहाँ अधिकांश सञ्चार माध्यमले खिल्ली उडाएको सर्वोत्तम सिमेन्टको शेयर प्रकरणका समाचारहरु हेर्दा, पढ्दा धेरैले आभाष गरेका छन् ।

पत्रकारिताको व्यवसायिक मान्यता, सञ्चार प्रतिष्ठानको जिम्मेवारी र कर्तव्यलाई यस्ता सञ्चार माध्यमहरुले आत्मसाथ गर्नु नपर्ने हो र ? आम लगानीकर्ता, पाठक र सम्बद्ध पक्ष तथा निकायले पक्ष पोष भएर पाठक माथि सूचनामा अपराध गर्ने सञ्चार प्रतिष्ठानको भूमिकामा कहिले प्रश्न उठाउने ?

धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकलाई निलम्बन गरी छानबिन गर्न कर्मचारीको माग

सर्वोत्तमको सञ्चालक समितिले नै गरेको थियो नियामक प्रमुखलाई शेयर बेच्ने निर्णय (माइन्युट सहित)

वरिष्ठ अधिवक्ता गान्धी पण्डित भन्छन् ‘धितोपत्र बोर्डका अध्यक्ष र सदस्यलाई ऐन अनुसार सजाय हुन सक्छ’

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणः अर्थमन्त्रालयले नेप्सेलाई पनि सोध्यो स्पष्टीकरण

धितोपत्र बोर्डलाई सर्वोत्तमको शेयर खरिद प्रकरणमा अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

धितोपत्र बोर्डका अध्यक्ष र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष नै शेयरको भित्री कारोबारमा संलग्न

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।