सर्बोत्तमको शेयर कारोबारको तथ्य बाहिर ल्याउन धितोपत्र बोर्ड कर्मचारी संगठनको अनुरोध

0
Shares

नेपाल धितोपत्र बोर्डको स्वतन्त्र कर्मचारी संगठनले साधारण शेयर ल्याउने तयारी गरेको सर्बोत्तम सिमेन्टको संस्थापक शेयर कारोबारको सन्दर्भमा सम्बन्धित निकायले सत्य तथ्या बाहिर ल्याउन अनुरोध गरेको छ ।

बोर्डका पदाधिकारीले नै सर्बोत्तमको शेयर कारोबार गरेको भन्ने खबरहरु सार्वजनिक भएपछि सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायलाई संगठनले आग्रह गरेको हो ।

संगठनले धितोपत्र बजारका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका विषयहरुलाई सम्बन्धित निकायबाट विना पूर्वाग्रह सत्य तथ्यमा आधारित भई आवश्यकतानुसार वास्तविकता बाहिर ल्याउन आग्रह गरेको हो । संगठनले बोर्डको कार्य वातावरणलाई प्रभावित हुन नदिन बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

संगठनले धितोपत्र बोर्ड तथा बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीहरुसँग जोडिएर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित भएका समाचारहरुप्रति ध्यानाकर्षण जनाएको छ । धितोपत्र बजारको विश्वसनीयता, पारदर्शीता र स्थिरताको साथै अन्तर्राष्ट्रिय सिद्धान्त तथा असल अभ्यास अनुरुप बजार संचालन हुनुपर्ने विषयलाई संगठन तथा कर्मचारी स्तरबाट निरन्तर योगदान गर्दै आएको संगठनको दाबी छ ।

संगठनको विज्ञप्ति अनुसार सामाजिक सञ्जालमा राखिएका सामाग्रीहरुबाट धतोपत्र बजारको निरन्तर सुधार तथा विकास कार्यमा लाग्ने धितोपत्र बोर्डका कर्मचारी तथा सम्बद्ध निकायका कर्मचारीहरुको मनोवलमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । पूँजी बजारको संवेदनशीलतालाई मध्यनजर गर्दै लगानीकर्ताको लगानीको सुरक्षा गर्ने विषय सम्पूर्ण सरोकारवाला पक्षहरुको सकारात्मक योगदानबाट मात्र सम्भव हुने संगठनको ठहर छ ।

पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका विषयहरुलाई सम्बन्धित निकायबाट विना पूर्वाग्रह सत्य तथ्यमा आधारीत वास्तविकता वाहिर ल्याई बोर्डको कार्य वातावरणलाई प्रभावित हुन नदिन संगठनले ध्यानाकर्षण गरेको छ ।

बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएर आएका विषयहरुमा सत्य तथ्य विवरण आधिकारिक निकायबाट प्रेषित हुने हुँदा पूँजी बजारलाई प्रभाव पार्ने भ्रामक एवं तथ्यहिन विषय बाहिर प्रकाशन नगर्न संगठनले अपिल गरेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।