३५ अर्ब कर्जा लिएका ४ हजार ऋणीलाई दुई वर्षसम्म भूक्तानी अवधि थप

0
Shares

बैंक तथा वित्तीय संस्थाले ४ हजार भन्दा धेरै ऋणीको कर्जा भुक्तानी अवधि एक देखि २ वर्षसम्म थप गरेका छन् । बैंक/वित्तीय संस्थाले कोरोनाका कारण कर्जाको सावाँ र ब्याज भुक्तानी समस्या परेका ऋणीहरुलाई सहुलियत दिँदै भुक्तानी अवधि थप गरिदिएका हुन् ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोरोना प्रभावित ऋणीलाई सहुलियत दिने भन्दै कर्जा भुक्तानी अवधि थप गरेको थियो । केन्द्रीय बैंकले यसरी कर्जा भूक्तानी अवधिमा थप गर्दा पनि मौद्रिक नीतिको त्रैमासीक समीक्षा मार्फत समय अवधि बढाउँदै लगेको थियो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएअनुसार गत आर्थिक वर्षमा कर्जाको सावाँ ब्याज भूक्तानी अवधि थपको सुविधा लिने ऋणीको संख्या कुल २० हजार ७७९ जना रहेका छन् । यसमध्ये सबैभन्दा धेरै कोरोनाका कारण अति प्रभावित भई धेरै समय पाउनेमा ४ हजार २११ जना ऋणी रहेका छन् ।

गत आर्थिक वर्षमा कोरोनाका कारण व्यापार व्यवसाय प्रभावित भएका ऋणीलाई ६ महिना देखि २४ महिनासम्मको समय थप गरेको छ । यसमा कोरोनाका कारण परियोजना निमार्ण सम्पन्न तथा सञ्चालन हुन नसकेको अवस्थामा रहेको कुल ५२ अर्ब रुपैयाँका ९९३ ऋणीलाई ६ देखि १२ महिनासम्मको ग्रेस अवधि थप भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थावाट ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको कर्जालाई ६ महिनाको ग्रेस अवधि थप भएको छ । यसरी ६ महिना ग्रेस अवधि थप पाउने ऋणीको संख्या १७४ रहेको छ । त्यसैगरी गत आवमा १८ अर्ब ४१ करोड रुपैयाँका ३२१ जना ऋणीलाई कोरोनाका कारण मध्यम असर परेको हुनाले ९ महिना समय अवधि थप भएको छ भने २९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कर्जाका ४९८ जना कोरोनाका कारण अति प्रभावित भएका ऋणीलाई १२ महिनाको समय अवधि ग्रेस थप गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी गत आर्थिक वर्षको जेठसम्ममा बैंक तथा वित्तीय संस्थाले कोरोना महामारीका कारण कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न समस्या भएका कुल १९ हजार ७८६ ऋणीलाई ६ महिना देखि २ वर्षसम्मको अवधि थप गरेका छन् । बैंकहरुको ९४ अर्ब रुपैयाँ बराबरको कर्जामा सावाँ तथा ब्याज भुक्तानीमा कोरोनाका कारण समस्या देखिएको थियो ।

कोरोनाका कारण न्यून प्रभावमा रहेका ७ हजार ६८८ जना ऋणीको कुल ३० अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जालाई ६ महिना भुक्तानी अवधि थप गरेको छ । त्यसैगरी सो अवधिमा २८ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा परिचालन गरेका ७ हजार ८८७ जना ऋणी कोरोनाका कारण मध्यम प्रभावित भएपछि भुक्तानी अवधि ९ महिना थप भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको जेठसम्ममा कोरोनाका कारण अति प्रभावित भई ३५ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा लिएका ४ हजार २११ जना ऋणीले १२ देखि २४ महिनासम्मको भुक्तानी अवधि पाएका छन् ।

यसरी कोरोना प्रभावितका लागि बैंक तथा वित्तीय संस्थाले कुल एक खर्ब ४६ अर्ब रुपैयाँ बराबरको कर्जालाई ग्रेस र भूक्तानी अवधि थप गरेका छन्  । कोरोनाका कारण प्रभावित भएका कुल २० हजार ७७९ जना ऋणीले ग्रेस तथा कर्जा भुक्तानको समय तोकिए सीमा भन्दा धेरै पाएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।