चिलीमेको बिक्री आय घट्दा प्रतिशेयर आम्दानीमा १ रुपैयाँ ८८ पैसा गिरावट

0
Shares

चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ७० करोड १८ लाख ३४ हजार खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षभन्दा ५.८७ प्रतिशत कम हो । अघिल्लो वर्ष कम्पनीले ७४ करोड ५५ लाख ९० हजार खुद नाफा गरेको थियो।

कम्पनीको विद्युत् विक्री आम्दानी घट्दा नाफामा असर परेको हो । अघिल्लो वर्ष १ अर्ब १४ करोड विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब १२ करोड आम्दानी गरेको छ ।

बिक्री आम्दानी घट्दा कम्पनीको संचालन नाफामा पनि गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.११ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५.१९ प्रतिशत घटेको छ।

जलविद्युत केन्द्रमा जडित विभिन्न उपकरणहरु तथा सफ्टवेयरमा समय सापेक्ष सुदृढिकरण गर्दा पावर प्लान्ट बन्द गर्नु परेका कारण र चिलिमे खोलामा पानीको बहावमा कमी आउनुका साथै प्राधिकरणको प्रणालीमा अवरोध भएकाले बिक्री आम्दानी घटेको कम्पनीको भनाई छ ।

गत वर्ष १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी ६ अर्ब २८ करोड कायम गरेको छ । जसको जगेडाकोष पनि ४ अर्ब ३० करोड बाट घटेर ३ अर्ब ८५ करोडमा खुम्चिएको छ । कम्पनीको जगेडा कोष १०.३९ प्रतिशतले घटेको हो।

कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १७ पैसा, कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८८ पैसाले घटेको हो। प्रतिशेयर नेटवर्थ १६१ दशमलव ४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६१.५० गुणा रहेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।