कोभिडको मारमा चन्द्रागिरी हिल्स, खुद नोक्सानी २५ करोड नाघ्यो

0
Shares

कोभिड महामारीले चन्द्रागिरी हिल्स लिमिटेडको व्यापार प्रभावित हुँदा नोक्सानी बढेर गएको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी २५ करोड नाघेको हो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १० करोड ६६ लाख रहेको नोक्सानी बढेर २५ करोड ३८ लाख नाघेको छ । पछिल्लो एक वर्षमा मात्रै कम्पनीको नोक्सानी १४ करोड ७२ लाखले बढेको हो।

कोभिड १९ का कारण कम्पनीको सञ्चालन आम्दानी घट्न गई खुद नोक्सानी बढ्न गएको कम्पनीको भनाई छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी निषेधज्ञाका कारण कम्पनीको सम्पूर्ण प्रशासनिक तथा आर्थिक गतिविधि ठप्प हुन पुगेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँमा झरेको छ। यस अवधिमा कम्पनीले सेवा बिक्रीबाट ३ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा ६ करोड १९ लाख आम्दानी गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रूपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६.५५ रूपैयाँ ऋणात्मक रहेको छ । यस्तै जगेडा कोष नोक्सानी १३ करोड ९७ लाखबाट बढेर ३९ करोड ३५ लाख रूपैयाँ पुगेको छ । कम्पनीले २ अर्ब ४४ करोड रुपैयाँ दीर्घकालीन सापटी चलाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।