जीवन विकास लघुवित्तको शेयरमूल्य ५ हजार २०० रुपैयाँ पुग्यो

0
Shares

जीवन विकास लघुवित्तको शेयरमूल्य ५ हजार २०० रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमूल्यमा लगातार बिहीवार १९ औं दिनसम्म पनि सर्किट लेबलमा वृद्धि भएर बढेको हो ।

साउन १४ गतेदेखि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार सुरु भएको कम्पनीको १९ औं कारोबार दिनमा सकारात्मक सर्किट लागेर प्रतिशेयर मूल्य ५ हजार १९८ रुपेयाँ ९० पैसा पुगेको हो ।

कम्पनीको शेयरमा खरीदकर्ता उच्च छन् भने बिक्रेता न्यून रहेको छ । साढे १२ बजे कम्पनीको शेयर खरीदका लागि १ हजार वटाभन्दा बढी अर्डबाट ६० हजार ३८५ कित्ता शेयरको माग छ । बिक्रीकर्ता सर्किट मूल्यमा पनि छैनन् । यद्यपी कम्पनीकोशेयरमूल्य ५ हजार नाघेपछि बिहीबार एकैदिन यसअघिका १८ दिनमा भन्दा धेरै कित्ता शेयर कारोबारमा आएको छ ।

लघुवित्तको शेयरमूल्यमा १८ औं दिनमा बुधबार सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४ हजार ७२६ रूपैयाँ ३० पैसा पुगेको थियो । बिहीबारको १२ः३० बजेसम्ममा कम्पनीको २८ हजार ५६७ कित्ता शेयर १४ करोड ८४ लाख ३६ हजार १२४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कम्पनीको शेयर उच्च बढ्दा १ हजार लगानी गरेका लगानीकर्ताले बिहीबारको बजार मूल्यबाट छोटो समयमा नै करिब ५१ हजार रुपैयाँ नाफा गरेका छन् ।

बुधबारसम्म कम्पनीको ८ हजार ३७ कित्ता शेयर २ करोड ७६ लाख ६८ हजार ६६६ रुपैयाँमा कारोबार भएको थियो । जसमध्ये बुधबार २ हजार ८८१ कित्ता शेयर १ करोड ३६ लाख ६ हजार ३३६ रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि कुनैपनि दिनमा १ हजार कित्ता शेयर कारोबार भएको थिएन ।

साउन १४ गते प्रतिकित्ता ९१४ रुपैयाँमा कारोबार खुलेको कम्पनीको शेयरमूल्य ४ हजार २८४ रुपैयाँ अर्थात ४६८.८० प्रतिशतले बढिसकेको छ ।

यसअघिको महिला लघुवित्तको शेयरमूल्य पनि ५ हजारपुगेकाले अब जीवन विकास लघुवित्तको शेयरमूल्य पनि धेरै बढ्ने आंकलनका साथ लगानीकर्ताले गोलाप्रथाबाट प्राप्त गरेको शेयर बिक्री गर्न थालेका छन् । कारोबार भएको शेयर अधिकांश १० कित्ताका दरले कारोबार भएको छ ।

कम्पनीले सर्वसाधरणमा असार ११ गतेदेखि १५ गतेसम्म १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकोमा म्युचुअल फण्ड र कर्मचारीलाई छुट्टाएर बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता आईपीओ बिक्री गरेको थियो ।

कम्पनीको आईपीओ १ लाख ८४ हजार ८०१ जना आवेदकले १० कित्ताका दरले र ५ जनाले भने ११ कित्ताका दरले शेयर पाएका थिए ।

नेप्सेमा साउन १३ गते बुधबार कम्पनीको ६० लाख ८४ हजार १०० कित्ता शेयर सूचीकृत भएको थियो । कम्पनीले शेयर साउन १४ गते बिहीबारदेखि दोश्रो बजारमा कारोबारका लागि जेबिएलबि सिम्बोलमा कारोबार हुँदै आइरहेको छ । मोरङको कटहरीमा प्रधान कार्यालय रहेको जीवन विकास लघुवित्तको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय सञ्लनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० भाद्र २०७८, बिहिबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।