साउनमा एक खर्ब ७१ अर्बको व्यापार, व्यापार घाटा ७०.५९ प्रतिशतले बढयो

0
Shares

चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल २० अर्ब ७६ करोड ५१ लाख १७ हजार  रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको छ । आव २०७७/७८ को सोही अवधिमा नौ अर्ब ६२ करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको थियो ।

आव २०७७/७८ मा कूल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको थियो । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो । आव २०७७/७८ मा कूल १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । आव २०७७/७८ मा कूल वस्तु व्यापार घाटा वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको थियो । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो ।

चालू आवको पहिलो महिनामा व्यापार घाटा एक खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ बराबर पुगेको छ । गत वर्षको साउनको तुलनामा २०७८ साउनमा व्यापार घाटा ७०.५९ प्रतिशतले बढेको छ । गत साउनमा एक खर्ब ७१ अर्ब ४९ करोड बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार भारतबाट नेपालमा ८९ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ भने नेपालबाट १६ अर्ब ८६ करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको छ । चीनबाट २० अर्ब ९७ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ मात्रै आठ करोड बराबरको निर्यात भएको छ ।

विभागका अनुसार सबैभन्दा बढी वस्तु आयात र निर्यात वीरगन्ज भन्सारबाटै भएको छ । त्यसपछि विराटनगर भन्सारबाट बढी निर्यात भएको छ । सो भन्सारको निर्याततर्फको हिस्सा २८.२३ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।