स्वास्थ्य बीमाको दायरामा १५ प्रतिशत नागरिक आबद्ध

0
Shares

देशको कुल नागरिकको १५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको दायराभित्र सामेल भएका छन् ।

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा भदौ २० गतेसम्म कुल जनसंख्याको १४.९६ प्रतिशत नागरिक समेटिएका हुन् ।

नागरिकको स्वास्थ्य उपचारसम्बन्धी अधिकारलाई बीमा मार्फत सुनिश्चित गर्नका लागि आर्थिक वर्ष २०७१/७२ को बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बीमा कार्यक्रम हाल ७५ जिल्लामा विस्तार भैसकेको छ ।

उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललिपुरमा भने सेवा विस्तार हुन बाँकी छ ।

विसं २०७२ चैत देखि सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम देशव्यापी बनेको छ । कार्यक्रम देशव्यापी बने पनि सहभागी हुने संख्याको दर भने न्यून देखिन्छ ।

स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेको संख्या ४५ लाख १६ हजार ६९४ छ । अर्थात कुल जनसंख्याको १४.९६ प्रतिशत जनसंख्या मात्रै स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।

कुन प्रदेशका कति समेटिए ?

बोर्डको तथ्यांक अनुसार बीमा कार्यक्रममा सहभागी हुनेहरुको संख्या प्रदेश १ मा सबैभन्दा बढी छ । प्रदेश १ का १४ लाख ९१ हजार २४ जना नागरिक बीमाको पहुँचमा आएका छन् ।

यसैगरी बाग्मती प्रदेशका ९ लाख ६ हजार ७५, गण्डकीका ५ लाख ५८ हजार १८, लुम्बिनीका ७ लाख १२ हजार ७२६, कर्णालीका २ लाख ६७ हजार ५६९, सुदूरपश्चिमका ३ लाख ७८ हजार ९१५ र प्रदेश दुईका २ लाख २ हजार २६५ जना नागरिक बीमाको पहुँचमा आएका छन् ।

महिलाको सहभागिता उच्च

यस कार्यक्रममा सहभागी भएकामध्ये पुरुषको तुलनामा महिलाको संख्या बढी छ ।

बोर्डले उपलब्ध गराएको तथ्याकंअनुसार प्रदेशको तथ्याकं हेर्दा पुरुषको तुलनामा महिलाको संख्या धेरै देखिएको हो ।

कार्यक्रम अन्तर्गत २३ लाख ४० हजार ६२९ जना महिला सहभागि भएका छन् । जुन कुल सहभागीताको ५१.८२१ प्रतिशत धेरै हो ।

यस्तै, २१ लाख ७५ हजार ४९८ जना पुरुष सहभागी भएका छन् । जुन कुल सहभागिताको ४८.६२ प्रतिशत हो ।

सहभागीमध्ये प्रदेश १ मा महिला सहभागीताको संख्या ७ लाख ७० हजार १९८ जना र पुरुष सहभागीताको संख्या ७ लाख २० हजार ६३२ छ । बाग्मती प्रदेशमा महिला सहभागीताको संख्या ४ लाख ६६ हजार १३७ रहँदा पुरुष सहभागिताको संख्या भने ४ लाख ३९ हजार ७८८ छ ।

यसैगरी लुम्बिनी प्रदेशमा महिला सहभागीताको संख्या ३ लाख ७१ हजार ९१५ छ भने पुरुष सहभागिताको संख्या ३ लाख ४० हजार ७३७ छ । गण्डकी, सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश २ मा समेत महिलाको सहभागीता उच्च छ ।

१५ वर्षदेखि २९ वर्ष उमेर समूहको सहभागीता धेरै

कार्यक्रममा १५ देखि २९ वर्ष उमेर समूहका नागरिकको सहभागीता उच्च देखिएको छ । यस उमेर समूहका १० लाख ६९ हजार ६४८ जना सहभागी भएका छन् । जुन कुल सहभागीताको २३.७ प्रतिशत हुन आउँछ ।

यस्तै, ४० देखि ५९ वर्ष उमेर समूहका ६ लाख १२ हजार ७६३, ६० वषदेखि माथिका १ लाख २२ हजार ६६६, १४ वर्षसम्म उमेर समूहका ८ लाख ४१ हजार २४५ जना सहभागी भएका छन् ।

९ अर्ब ८० करोड रकम संकलन, प्रदेश १ को योगदान बढी

स्वास्थ्य बीमा बोर्डले हालसम्म ९ अर्ब ८८ करोड ३६ लाख ६ हजार २२५ रुपैयाँ रकम बीमा प्रिमियम संकलन गरेको छ । जसमा प्रदेश १ को योगदान बढी रहेको छ । प्रदेश १ बाट दुई अर्ब ७७ करोड २७ लाख ७८ हजार ४७५ रकम संकलन भएको छ ।

यस्तै, प्रदेश २ को ५.२६ प्रतिशत, बाग्मतीको १८.२९ प्रतिशत, गण्डगी १४.५८, लुम्बिनी १६.७८, कर्णाली ४.८६ र सुदुपश्चिम प्रदेशको योगदान ९.६९ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।