बीमा कम्पनीका अध्यक्षहरुलाई सीइओको भूमिकाप्रति हस्तक्षेपकारी नीति अख्तियार गर्न समितिको निर्देशन

0
Shares

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाहरूको परिपालना गर्न तथा बीमा व्यवसायलाई स्वच्छ एवं पारदर्शी ढङ्गले अघि बढाउन जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई निर्देशन दिएका छन् ।

बीमा समितिले जीवन बीमासंग सम्बन्धित समस्या र समाधान विषयमा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीका सुझावहरूलाई गम्भीरतापूर्वक लिएर नियम निर्देशिका बनाई समग्र बीमा क्षेत्रको सुधारका कार्यलाई अगाडि बढाइएको बताए ।

वीमा कम्पनीहरूमा सुशासन कायम गर्न, कारोबारलाई दुरूस्त राख्न र पारदर्शी हुन निर्देशन दिँदै अध्यक्ष सिलवालले भने -‘बीमा कम्पनीहरूको लगानीमा विविधीकरण छैन, लगानीको वार्षिक योजना छैन, जनशक्ति विकासको कार्यक्रम छैन, बीमा सचेतना जगाउने विज्ञापनको व्यवस्था छैन, समस्या धेरै भए, यसतर्फ कम्पनीका अध्यक्षको ध्यान जानु पर्यो र अध्यक्षहरुको भूमिका प्रभावकारी हुनु पर्यो’

बीमा कम्पनी व्यक्तिको इच्छानुसार नभई कम्पनीकै रूपमा संचालन हुनुपर्ने, खर्च पारदर्शी हुनुपर्ने र बीमा अभिकर्ताको कामको अनुगमन गर्नुपर्नेतर्फ कम्पनीका अध्यक्षहरूको ध्यानाकर्षण गर्दै अध्यक्ष सिलवालले कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले कम्पनी कसरी चलाएका छन, बीमा समितिका निर्देशनहरूको परिपालना भएका छन कि छैनन, नयाँ नयाँ बीमामालेख ल्याउने र लगानी विविधीकरण गर्नेतर्फ के भएका छन भन्ने कुराको अनुगमन, रेखदेख र नियन्त्रण गरी कम्पनीमा थिति बसाल्न अध्यक्षहरूलाई निर्देशन दिए। अध्यक्ष सिलवालले बीमा कम्पनीका कुनै समस्या भए बीमा समितिले समाधान गर्ने उल्लेख गर्दै जनताको बीमा रकमको सुरक्षाको ग्यारेन्टी समितिले खोजेको बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विश्वव्यापी कारोना भाइरसको महामारीका बीचमा पनि नेपालको जीवन बीमा क्षेत्रले केही गति लिएको देखिए पनि धेरै समस्याहरू रहेको बताए ।

उनले जीवन बीमा कम्पनीहरूको आन्तरिक कार्यविधि गुणस्तरीय नभएको, बीमाङकीय मूल्याङ्कन समयमै गराएर वित्तीय विवरण समितिमा स्वीकृतिका लागि पेश नगरेको, यथार्थ जोखिमाङ्कन नगरी वीमालेख जारी हुने गरेको, लगानी निर्देशिका बमोजिम लगानी नभएको, पूर्वाधार लगायतका तोकिएका क्षेत्रमा लगानी नभई वैङ्कका मुद्दती निक्षेपमा लगानी केन्द्रित भएको बताए ।

त्यस्तै उनले शेयर लगानी अपारदर्शी रहेको, खरीद प्रक्रिया पारदर्शी एवम व्यवस्थित नदेखिएको, वीमितलाई छिटो छरितो रुपमा दाबी भुक्तानी नगरेको र वीमकमा सरेण्डर तथा ल्याप्स रेसियो दिनानुदिन बढिरहेको लगायतका समस्याहरू रहेको उल्लेख गरे ।

कार्यकारी निर्देशक पौडेलले लगानी विविधीकरण गर्न, नयाँ नयाँ बीमालेख ल्याउन, सुशासन कायम गर्न, कस होल्डिङ्ग भई लगानी भएकाहरूलाई तुरून्त तोकिएको सीमाभित्र बस्न अन्यथा फोर्स मर्जरमा जानुपर्ने अवस्था आउनसक्नेतर्फ ध्यान दिन, स्वइच्छाले मर्जरमा जाने बातावरण तयार गर्न, वित्तीय पारदर्शिता कायम गर्न र समयमै साधारण सभा गर्न सुझाव दिँदै कम्पनीका समस्याको समाधानका लागि संचालक समितिका अध्यक्षहरू नै अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागी जीवन बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूले बीमा समितिले औल्याएका समस्याहरूको समाधान गर्ने तत्परता व्यक्त गर्दै लगानीको दायरा फराकिलो बनाउन, बीमा सम्बन्धी नीति, नियम र निर्देशिकाको समयानुकूल परिमार्जन गर्न, टिकटको व्यवस्था हटाउन सुझाब दिए।

साथै उनले उद्यारो बीमा गर्न नपाउने व्यवस्थालाई नवीकरणमा पनि माग गर्न, योनस दरमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि हस्तक्षेपकारी नीति ल्याउन, बैङ्कसंगको साझेदारीमा लगानी गर्न पाउने व्यवस्था गर्न, करको दायरामा नपर्ने वर्गलाई पनि वीमामा भावर्षित गर्ने व्यवस्था गर्न, कर छुटको दायरा बहाउनका लागि पहल गरिदित, बीमा क्षेत्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादनका लागि बीमा समितिको अग्रसरतामा बीमा कलेज जस्ता शैक्षिक प्रतिष्ठान स्थापना गर्न बीमा समितिलाई सुझाव दिए । कार्यक्रममा वीमा कम्पनीहरुका संचालक समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।  

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहिबार  १७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।