पोखरा महानगरको बजेट खर्च ६६ प्रतिशत, विकास खर्च ५० प्रतिशत मात्रै

0
Shares

पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ।

कोरोना महामारीका कारण विकासका काम ठप्प हुँदा खर्च प्रभावित बनेको महानगरपालिकाले जनाएको छ । महानगरद्वारा यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा वित्त महाशाखा प्रमुख जयराम पौडेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार चालुतर्फ ८७ प्रतिशत र पूँजीगततर्फ ५०५ प्रतिशत मात्र खर्च भएको हो ।

गत आर्थिक वर्षमा विनियोजित कूल पाँच अर्ब ५१ करोड ८२ लाख ५३ हजार बजेटमध्ये तीन अर्ब ६८ करोड ८१ लाख २५ हजार खर्च भएको बताउँदै प्रमुख पौडेलले बजेट खर्चको अनुपातमा सबैभन्दा धेरै ९९१।३७ प्रतिशत० शिक्षा महाशाखाले खर्च गरेको जानकारी दिए।

उक्त महाशाखाले कूल एक अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये एक अर्ब २३ करोड २१ लाख ८३ हजार रकम खर्च गरेको थियो । सबैभन्दा कम सामाजिक विकास महाशाखाले (४५.४४ प्रतिशत) खर्च गरेको छ ।

उक्त महाशाखामा रहेको कूल १० करोड २२ लाख ७१ हजार बजेटमध्ये चार करोड ६४ लाख ७१ हजार रकम मात्र खर्च भएको उनको भनाइ छ । प्रमुख पौडेलले भने, “पूर्वाधारतर्फको बजेट भने ४८.१ प्रतिशत खर्च भएको छ । कूल बजेट दुई अर्ब ६८ करोड ७७ लाख ६८ हजारमध्ये एक अर्ब २९ करोड २७ लाख ४५ हजार रकम खर्च भएको छ ।

पोखरा महानगरको वित्तीय अवस्था सशक्त रहेको दाबी गर्दै उनले भने, “महानगरमा यो आर्थिक वर्षमा कुनै योजनालाई रकम नपुग्ला कि भन्नुपर्ने अवस्था छैन ।” राजस्व सङ्कलनमा भने महानगर केही कमजोर देखिएको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा करिब २६ करोड अनुमान गरिएको सम्पत्ति कर जम्मा सात करोडमात्र उठेको बताउँदै उनले भने, “गत आवमा विज्ञापन र मनोरञ्जन कर शून्य हुनुका साथै ३५ करोड उठ्ने अनुमान गरिएको ढुङ्गा, गिट्टी, बालुवा कर रु २१ करोड ८० लाख सङ्कलन भएको थियो ।”

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले निर्माण सामग्री एवं कामदार अभाव तथा कोरोना महामारीका कारण योजनाअनुरुपका काम गर्न नसकिएको जानकारी दिए। वर्षायाम, चाडबाडलगायत कारण पनि काम कम हुने परिपाटी रहेको बताउँदै उनले योजना छनोट, सार्वजनिक खर्चसम्बन्धी व्यवस्था, क्षमताभन्दा बढी काम लिने निर्माण व्यवसायीका कारण पनि महानगरमा सोचेजस्तो काम हुन नसकेको स्पष्ट पारे ।

समीक्षा गोष्ठीमा महानगरका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी भरतराज पौडेलले वार्षिकरूपमा गरिने समीक्षाले महानगरको प्रशासनिक अवस्थाबारे जानकारी गराए । कोरोना महामारीको विषम अवस्थामा समेत महानगरवासीको सेवामा कुनै कसर बाँकी नराखी काम गरिएको उनको भनाइ थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १ आश्विन २०७८, शुक्रबार  १२ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।