साल्ट ट्रेडिङ्गद्धारा देशभरका ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन, नून ६ र चिनी २ केजी मात्र पाइने

0
Shares

साल्ट ट्रेडिङ्ग कर्पोरेसनले आजदेखि दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी ३२ स्थान सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कर्पोरेसनले उपत्यकामा तीन घुम्ति सहित ९ स्थानमा र मोफसलमा २३ स्थान गरी ३२ स्थानबाट सेवा दिन थालेको हो ।

कर्पोरेसनका अनुसार काठमाण्डौं उपत्यकामा भित्र कालिमाटीमा दुई स्थान, कोटेश्वर, सतुङ्गल, जावलाखेल र भक्तपुर गरी ६ स्थान र तीन स्थानमा घुम्ती सेवा गरी ९ स्थानमा दैनिक उपभोग्य वस्तुहरु खरीद गर्न सकिने सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

काठमाण्डौं उपत्यका बाहिर बनेपा, त्रिशुली, विराटनगर, राजविराज, लहान, हेटौडा, नारायणगढ, विर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बाग्लङ्ग, नेपालगञ्ज, भैरहवा, दाङ, टिकापुर, बेलौरी, कृष्णनगर, धनगढी, महेन्द्रनगर, सुर्खेत, दिपायाल, डडेलधुरामा पनि शुक्रबारदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

साल्ट ट्रेडिङ्गले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा ग्राहकहरुले असोज १ गतेदेखि कार्तिक २४ गतेसम्म ५५ दिनसम्म सहुलियत मूल्यमा सामान खरीद गर्न सक्नेछन् । सुपथ मूल्य पसलमा नुन प्रतिकेजी १८ रुपैयाँ र चिनी प्रतिकेजी ७९ रुपैयाँमा उपलब्ध हुनेछ । अन्य खाद्यान्न प्रतिकिलो रु पाँचदेखि दशसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले यो वर्ष मौज्दात कम भएका कारण प्रति ग्राहक चिनी २ केजीका दरले मात्र उपलब्ध हुनेछ भने नुनमा प्रति ग्राहक ६ केजीको सीमा तोकिएको छ । अघिल्लो वर्ष प्रति ग्राहक ६ केजी चिनी उपलब्ध गराउन सकिएपनि यो वर्ष कम मौज्दात रहेका कारण २ केजी मात्र वितरण गर्न थालिएको हो । कर्पोरेशनसँग नुन भने दश महिनालाई पुग्ने (१ लाख ४० हजार मेट्रिक टन) मौज्दात रहेको छ ।

कर्पोरेशनमा चिनीको मौज्दात न्यून रहेकोले सो मौज्दात रहेसम्म बिक्री वितरण गरिने र नेपाल सरकारमा अनुरोध भए बमोजिम चिनी उपलब्ध भएमा सोही बमोजिम वितरण हुने प्रवक्ता राजभण्डारीको भनाई छ । हाल कर्पोरेशनमा ३०० मेट्रिक टन मात्र चिनी मौदात रहेको छ । अहिलेको अवस्थामा मासिक ३ हजार मेट्रिक टनको माग रहेकोमा मागको १० प्रतिशतसम्म मात्र चिनी मौज्दात रहेको उनले जानकारी दिए । दशैंका लागि सहुलियत चिनी उपलब्ध गराउन अर्थ मन्त्रालयमा ५।६ पटकसम्म प्रस्ताव पठाएपनि अर्थले स्वीकृति नदिँदा उपलब्ध चिनीले माग धान्नसक्ने अवस्था नरहेको उनले बताए ।

दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, तेल, मसला, पिठो, गेडागुडी, सीमी, फापर, मैदा, आटा, खाद्यान्नका अन्य वस्तुहरुको हकमा पनि साल्ट ट्रडिङको तफबाट नै कर्पोरेशनले बजारको दरभन्दा न्यूनतम मुनाफा राखी विक्री वितरणको प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

अर्कोतिर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत ३९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । जहाँ अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम मूल्य पर्नेछ ।

उक्त पसलहरुमा मोटा, मसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमी, फापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट प्रदान गरिएको छ । भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिइएको छ भने तोरी र सनफ्लावरमा ५ रुपैयाँ छुट दिइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ आश्विन २०७८, शुक्रबार  १५ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।