असारमा एक अर्बले बचतमा रहेको सोधनान्तर स्थिती साउनमा ३९ अर्ब घाटामा

0
Shares

चालु आर्थिक वर्षको साउनमा करिब ३९ अर्ब रुपैयाँले शोधनान्तर स्थिती नकारात्मक भएको छ । आर्थिक क्रियाकलाप चलायमान भएपछि बढ्दो आयात र घट्दो रेमिट्यान्स आप्रबाहले शोधनान्तर स्थिती नकारात्मक देखिएको हो ।

चालु आर्थिक वर्षको साउनमा करिब ७५.७ प्रतिशतले आयात बढेको छ भने रेमिट्यान्स आप्रबाह करिब १८.१ प्रतिशतले घटेको छ । यसले गर्दा शोधनान्तर स्थितीमा दवाव परेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको असारमा एक अर्ब २३ करोड रुपैयाँले सकारात्मक रहेको शोधनान्तर स्थिती चालु आर्थिक वर्षको पहिलो महिनामा ३८ अर्ब ७५ करोड रुपैयाँ नोक्सानीमा रहेको छ ।

चालु आवको साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपौयँ घाटामा रहेको छ । गत आवको साउन महिनामा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा गत आवको साउनमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु अवाको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको छ ।

चालु आवको साउन महिनामा चालु खाता ४७ अर्ब ९० करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता रु.२४ अर्ब ८९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको पहिलो महिनामा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता चालु आवको पहिलो महिनामा ४० करोड २४ लाखले घाटामा रहेको छ ।

चालु आवको साउनमा पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई ६७ करोड ९७ लाख रुपौयँ रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई ४८ करोड ६ लाख कायम भएको छ । गत आवको साउनमा पुँजीगत ट्रान्सफर १ अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।