
गृह मन्त्रालयले स्वास्थ्य प्रोटोकलभित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको कुनै आदेश तथा उदेश्य नभएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले असोज १४ गते जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड १९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार दिउँसो १२ बजेदेखि लागू हुने गरी जारी गरेको आदेशमा कोभिड–१९ को संक्रमण कायमै रहेको हुँदा भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने उल्लेख गरिएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी गरेको आदेशमा संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, ०२८ को दफा ६ को उपदफा ३ बेमाजिम कोभिड–१९ रोकथाम तथा न्युनिकरणका लागि ११ बुँदे आदेश जारी गरेका थिए। आफैँ आदेश जारी गर्ने र उपत्यकामा विभिन्न पाटीहरुले आयोजना गरेको कार्यक्रममा आफैँ सुरक्षा दिन थालेपछि सरकारको आलोचना भएको थियो । सरकार आलोचित भएपछि गृहले स्वास्थ्य प्रोटोकल पालना गरेर गरिने कार्यक्रममा कुनै रोक नलगाएको स्पष्ट पारेको हो ।
सत्तारुढ नेपाली कांग्रेस भीडभाड गरेरै १४ औँ महाधिवेशनका विभिन्न कार्यक्रम गरिरहेको छ भने बिहीबारदेखि माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको तीन दिने राष्ट्रिय सम्मेलन सुरू भएको छ ।
बिहीबार अध्यक्ष पुष्पकमल दाहालले भीडभाडकै बीच सम्बोधन गरेपछि सरकारको तीव्र आलोचना भएको हो । सर्वसाधारण नागरिकका लागि आदेश जारी गर्ने प्रशासनले राजनीतिक दलका सभा सम्मेलनमा भने कुनै अवरोध नगरेको भन्दै नागरिक स्तरबाट सरकारको आलोचना भैरहेको छ ।
गृह मन्त्रालयले बिहीबार जारी गरेको आदेशको पूर्ण पाठ यहाँबाट हेर्नुहोस्
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया