धितोपत्र बोर्डद्धारा ‘इन्साइडर ट्रेडिङ’ को शङ्का लागेका कम्पनीको विवरण माग

0
Shares

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग केही कम्पनीको शेयर कारोबारसँग सम्बन्धीत विवरण माग गरेको छ ।  बोर्डले अन्तरिक सूचनाका आधारमा कानुन विपरित कारोबार भएको आशंकामा ती कम्पनीहरुको कारोबार विवरण नेप्सेसँग माग गरेको हो ।

बोर्डले केही दिन अघि नेप्सेलाई पत्राचार गर्दै रैराङ्ग तथा रिडी हाइड्रो डेभलमेन्ट कम्पनीको शेयर कारोबारमा इन्साइडर भएको आशंका गर्दै नेप्सेसँग विवरण मागको छ । दुबै कम्पनीमा एकै व्यक्ति अध्यक्ष रहेको अवस्थामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर बिक्री गरेपछि बोर्डले थप अध्ययनका लागि विवरण माग गरेको हो ।

यसभन्दा अघि बोर्डले एनएआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले हिमालयन पावर पार्टनरको शेयर बिक्री गरेपछि अध्ययन गरेको थियो । एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन दुबै कम्पनीको अध्यक्षमा गैरआवासीय नेपाली जीवा लामिछाने अध्यक्ष छन् ।

एनआर​एन इन्फ्रास्ट्रक्चरद्धारा हिमालयन पावरको शेयरमा ‘इन्साइडर ट्रेडिङ’, दुबै कम्पनीको अध्यक्ष जीवा लामिछाने

केही महिनाअघि एनआरएन इन्फ्रास्ट्रक्चरले हिमालयन पावर पार्टनरको शेयर बिक्री गरेको सन्दर्भमा बोर्डले अध्ययन गरेको धितोपत्र बोर्ड स्रोतले जानकारी दियो । “त्यसमा धितोपत्र बोर्डले स्पष्टिकरण पनि सोधेको थियो,” स्रोत भन्यो, “त्यसमा कानूनी रुपमा संस्थाले गरेको कारोबारको विषयमा स्पष्ट व्यवस्था नभएको हुनाले रोकिएको थियो ।” यस विषयमा थप छलफल गर्नुपर्ने देखिएको स्रोतको भनाई छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरले सो विषयमा धितोपत्र बोर्डलाई जवाफ दिँदै सञ्चालक भएको संस्थाले त बिक्री गर्न पाउनुपर्ने तर्क राखेको स्रोत भनाई छ । एक संस्थाको प्रतिनिधि अर्को संस्थाको सञ्चालक भएको अवस्था शेयर कारोबार गर्न नपाए संस्थाले बिक्री गर्ने नपाउने अवस्था रहने तर्क उनीहरुले पेश गरेको स्रोत बतायो ।

एनआरएन र हिमालयन पावर पार्टनरको जस्तै गुरु लामिछाने अध्यक्ष भएका संस्थाहरुले पनि शेयर कारोबार भेटिएपछि धितोपत्र बोर्डले थप अध्ययनका लागि कारोबार विवरण माग गरेको हो । “बजारमा देखिएका विकृतिको विषयमा धितोपत्र बोर्डले अध्ययन अनुसन्धान गरेर कानुन विपरित काम गरेको ठहर भएका कारबाही गर्नुपर्ने हो,” स्रोत भन्यो, “रिडी र रैराङको सन्दर्भमा पनि शेयर कारोबार विवरण माग गर्दै नेप्सेलाई पत्र लेखेका छौं,” स्रोतले भन्यो, “नेप्सेले दिने कारोबार विवरणबाट के देखिन्छ त्यसपछि मात्र के गर्ने भन्ने निर्णय हुन्छ ।”

रिडीद्धारा रैराङ हाइड्रोको शेयरमा ‘इन्साइडर ट्रेडिङ ’, दुबै कम्पनीको अध्यक्ष गुरु न्यौपाने

धितोपत्र बजारका तथ्याङ्कका लागि प्राइम सोर्स भनेको नेप्से हो । नेप्सेले विस्तृत विवरण दिएपछि त्यसलाई अध्ययन गरेर बोर्डले आवश्यक कदम चाल्ने स्रोतको भनाई छ । रिडी रैराङको सन्दर्भमा कानुन विपरितको कारोबार पुष्टि भएको खण्डमा एनआरएन इन्फ्रास्टक्चर र हिमालयन पावर पार्टनरलाई पनि सोही व्यवहार हुने धितोपत्र बोर्ड स्रोतले जानकारी दियो ।

पछिल्लो डेढ महिनाको अवधिमा रिडीले रैराङको करिब २५ लाख कित्ता शेयर बिक्री गरेको छ । संस्थापक शेयरको लकइन पिरियड सकिएको भोलिपल्ट नै रिडीले रैराङको शेयर बिक्री गर्न सुरु गरेको थियो । त्यसैगरी एनआरएन इन्फ्रास्टक्चरले हिमालयन पावरमा ३८ करोड रुपैयाँ बरावरको संस्थापक शेयर लगानी गरेको थियो । एनआरएन इन्फ्रास्टक्चरले सोही मध्येको धेरै शेयर बिक्री गरेको हो । तर, कानुनले यसरी कारोबार गर्न बन्देज गरेको छ । कुनै पनि सूचीकृत कम्म्पनीको सञ्चालकमा बहाल रहेको वा पदबाट राजीनामा दिएका एक वर्ष नपुग्दासम्म सम्बन्धित कम्पनीको शेयर कारोबार गर्न बन्देज गरेको छ ।

धितोपत्र बोर्डको सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७४ अनुसार सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचीकृत संस्थाको सञ्चालक, तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्नु हुँदैन । यो व्यवस्था अनुसार गुरु न्यौपाने दुबै संस्थाको अध्यक्षको रुपमा रहन सक्दैनन् । निर्देशिका अनुसार सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर, डिबेञ्चर खरीद बिक्री गर्न पाउँदैनन् ।

धितोपत्र बजारमा आन्तरिक सूचनाका आधारमा शेयर खरिद बिक्री गर्ने काम संस्थाले पनि गर्न नहुने एक शेयर विश्लेषकले बताए । “संस्थाको लगानी भएपनि खरीद बिक्रीको निर्णय व्यक्तिले गर्ने हो,” ती विश्लेषकले भने, “संस्थागत लगानी होस् वा व्यक्तिगत आन्तरिक सूचनाका आधारमा शेयर कारोबार गर्न मिल्दैन, कानुनले छुट दिएको छ भने पनि यस्ता कुरालाई कानुन भित्र पारेर नियमन गर्नुपर्ने हुन्छ ।”

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्रसम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सोअन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले पचास हजारदेखि पचहत्तर हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ ।

त्यसैगरी सोही दफाको उपदफा (६) मा कसैले धितोपत्रसम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनिमय बमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार सञ्चालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

त्यसैगरी भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था धितोपत्र ऐनमा रहेको छ । ऐन अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुँदैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।