
न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा करिब १४ लाख जनाले आवेदन दिएका छन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले उपलब्ध गराएको तथ्याङ्क अनुसार असोज १७ गते आइतबार साँझ ५ बजेसम्ममा १३ लाख ७९ हजार ६६५ वटा आवेदन परेको हो ।
उक्त संख्याको आवेदनबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ता खरीका लागि माग परेको क्यापिटलले जनाएको छ । जुन सर्वसाधारणबाट माग भएको कित्ता २० लाख ९२ हजार ५०० कित्ताको ८.२४ गुणा बढी हो ।
कम्पनीले शुक्रबारदेखि कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयरका लागि सर्वसाधरणबाट आवेदन माग गरिएको थियो ।
कम्पनीले निष्काशन गरेको उक्त आईपीओ असोज १९ गते मंगलबार कार्यालय समयपश्चात बन्द हुनेछ ।
न्यादी हाईड्रोपावरको आईपीओमा प्रतिकित्ता न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपिओमा मेरो शेयर मोबाइल एप, मेरो शेयरवेवसाइट र सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट सजिलै आवेदन दिन सकिनेछ ।
कम्पनीले हाल लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कूल अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ ।
धितोपत्रको सार्वजनिक निष्काशन गर्दा रेडिङ गर्नुपर्ने प्रावधान अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने बुझिन्छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।
कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ५० करोडको प्रतिशेयर रु १०० अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको रु १०० अङ्कित मूल्यका १५ लाख कित्ता सेयर र संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता सेयर गरी १८ लाख कित्ता सेयर गत भदौ १ देखि निष्काशन खुला गरिएको र त्यसको बाँडफाँडसमेत भइसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया