सरकारको नीतिले ४४ लाख लगानीकर्ता मर्माहत : इन्भेष्टर्स फोरम

0
Shares

नेपाल इन्भेष्टर्स फोरमले निरन्तर रुपमा घटिरहेको पूँजीबजार र त्यसले आम लगानीकर्ताहरूमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति सरकार मौन रहेको भन्दै गम्भिर ध्यानकर्षण गराएको छ ।

देशलाई समृद्ध बनाउन र शेयर बजारप्रति जनताको आकर्षण बढाउनको निम्ति तथा लगानी सुरक्षाको आभाष दिलाई शेयर बजारको विश्वसनीयता बढाउन फोरमले सरकारसँग माग गरेको छ ।

फोरमले नेपालको पूँजी बजारको इतिहासमा सबै भन्दा बढि पूँजीकृत रकम ८ खर्ब भन्दा बढि गुमाइसक्दा पनि सरकार र यसका अन्य निकायहरू मौन रहनाले ४४ लाख भन्दा बढि लगानीकर्ताहरू अझ बढि मर्माहत भएको भन्दै सरकारसँग विभिन्न पाँच माग अगाडि सारेको छ ।

फोरमले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ वटा बैंकबाट १२ करोडको सिमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित गरेको कारण उक्त नियम तुरुन्त खारेज गर्न माग गरेको छ ।

यस्तै नयाँ ब्रोकर संख्याहरू थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिई उक्त बैंकहरूको देशभरिको सबै शाखाहरूबाट कारोबार गर्ने सुबिधा विस्तार गर्न पनि फोरमले माग गरेको छ ।

यसैगरी ब्रोकर मार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराउनका साथै हालको कारोबार हेर्दा ब्रोकर कमिसन अत्यन्त महङ्गो भएको हुनाले समय सापेक्ष अविलम्ब समायोजन गर्न आग्रह गरेको छ

पूँजीबजारलाई नियमन गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लामो समयदेखि निमित्तको भरमा चलिरहेको हुँदा उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्ति गरी यथासक्य चाँडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गर्न पनि अनुरोध गरेको छ ।

मुलुक आर्थिक विकास र समृद्धिका नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने नयाँ सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरूमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको शेयर बजार निरन्तर रुपमा घटिरहनु र जिम्मेवार निकायहरू बेखबर जस्तै रहनुले भनाई र गराईमा फरक रहेको फोरमको बुझाई छ ।

विगतमा जिम्मेवार निकायहरुको अदूरदर्शि नीतिका कारण आज मुलुकले गम्भीर रुपमा लगानी योग्य पूँजी तथा तरलताको अभाव खेपिरहेको छ । सोहि गलत नीतिको कारणले पूँजी बजारमा आपूर्ति बढ्न गएको तर आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरूको पूँजीबजार प्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्ता मैत्री ऐन कानूनहरू नहुनु नै प्रमुख कारण भएको फोरमको ठम्याइ छ ।

विगतमा लगानीका अन्य क्षेत्रहरु सुशुप्त रहेको अवस्थामा विद्यार्थीदेखि शिक्षक, प्राध्यापकसम्म, निजामती कर्मचारीदेखि सेना तथा प्रहरीसम्म, गृहणीदेखि सेवा निवृत व्यक्तिहरूसम्म, ठला व्यवसायिक घरानादेखि साना व्यवसायिहरूले आफ्नो बचत तथा ऋण रकमलाई यसै क्षत्रमा लगानी गरेको कुरा विगत ५ वर्षको तथ्याङ्कबाटप्रष्ट देख्न सकिन्छ । निरन्तर रुपमा घटिरहेको बजारको कारण र सोको निराकरणका विषयमा सम्बन्धित क्षेत्र मौन रहनुले पूँजीबजार मार्फत व्यवसायिक क्षेत्रमा प्रवेश गर्न चाहने लाखौं लगानीकताहरू निरुत्साहित भएका छन् । फोरमद्धाराजारी विज्ञप्तिमा भनिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ