बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँडका लागि शुक्रबार मिति तोकिएको छ ।
आईपीओ बाँडफाँडका लागि कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडले बुधबार शेयरको प्रिअलटमेन्ट सम्पन्न गरी धितोपत्र बोर्डबाट स्वीकृति लिइसकेको छ ।
कम्पनीले यहि असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणमा ८ करोड मूल्यका ८ लाख कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरु र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिएको थियो ।
आईपीओ पाउने संख्या ७४ हजार ४००
कम्पनीले जारी गरेको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा ७४ हजार ४०० जनले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार आइपीओमा २१ लाख ११ हजार ८१९ वटा आवेदन परेको छ । उल्लेखित संख्याको आवेदनबाट सर्वसाधारणबाट माग भएको कित्ताको ३५.६६ गुणा बढी अर्थात २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको माग परेको छ ।
यसअनुसार कम्पनीको आईपीओमा आवेदन गरेका २० लाख ३७ हजार ४१९ जना आवेदकको हात खाली हुने देखिन्छ । आईपीओ पाउन नसक्ने उल्लेखित संख्या यो कुल आवेदकको ९६.४८ प्रतिशत हो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपि आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्नसक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३.८० करोड रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया