एनआरएनएको महाधिवेशन स्थगित

0
Shares

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।

एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार कानूनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको बैठकमा संस्थाको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरी थप निर्णय गरिने जनाउँदै एनआरएनएले महाधिवेशनका लागि काठमाडौं आइसकेका र आउन तयार रहेका प्रतिनिधिमा पुगेको असुविधाप्रति क्षमा मागेको छ ।

एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्य, रविना थापा र डा बद्री केसीले प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।