रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको निधन

0
Shares

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष तथा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ ।

कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको अस्पतालले जनाएको छ ।वि.सं. २०२१ मंसिर ८ गते ललितपुरको पिलाछेँमा जन्मिएका महर्जनको २०७८ कात्तिक १ गते दुःखद निधन भएको हो ।

निजी क्षेत्रको सहकार्य, एकता एवं समन्वयात्मक प्रयासले नै मुलुकको अर्थतन्त्रलाई सम्बृद्ध बनाउन सकिन्छ भन्ने मान्यता राख्ने उनी नेपाल जेम एण्ड ज्वेलरी काउन्सीलका अध्यक्ष, अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य हुनुका साथै नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिका अध्यक्ष र नेपाल कोरिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि, नेपाल वर्मा चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि आदि द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुमा समेत सक्रिय थिए । स्वर्गीय महर्जनले न्हुदँ राष्ट्रिय समारोह समिति नेपाल संवत ११४० र ११४१ का अध्यक्ष भई कार्य गरेका थिए ।

महर्जनले स्थापना गरेको आर.बी. डायमण्ड ज्वेलर्स प्रा. लि. झण्डै २५ वर्षको अवधिमा देशको एक प्रमुख ज्वेलर्स बन्न सफल भएको छ । नेपाली मौलिक बहुमूल्य गहनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित गराई निर्यात प्रवद्र्धन गर्ने कार्यमा आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशक समेत रहेएका महर्जन निरन्तर सक्रिय रहे । निर्यात प्रवद्र्धन कार्यमा आम गहना व्यवसायीलाई अभिप्रेरित गर्नुका साथै उनले नेपाल सरकार एवं मुलुकका सम्बन्धित निकायको ध्यानाकर्षण गराई रहे ।

संस्थापक अध्यक्ष महर्जनले महासंघको स्थापना कालदेखि नै कुशल नेतृत्व प्रदान गर्दै आएका थिए । आभुषण क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख आधार स्तम्भ बनाउने प्रतिज्ञाका साथ मुलुकभरका गहना व्यवसायीहरु र सम्बन्धित क्षेत्रका संघहरुलाई संगठित गरी बहुमूल्य गहना तथा आभुषण क्षेत्रमा मुलुककै पहिलो महासंघको स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निवाह गरेका महर्जनले जीवनपर्यन्त सशक्त नेतृत्व प्रदान समेत गरे ।

अध्यक्ष महर्जनको आकस्मिक एवं असामयिक दुःखद निधनले महासंघ परिवार अत्यन्त स्तब्ध, भावविह्वल एवं मर्माहत भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका प्रथम उपाध्यक्ष राम प्रसाद विश्वकर्माले बताए । अल्पायुमा नै भएको उनको निधनले अपुरणीय क्षति हुनुका साथै महासंघले एउटा संस्थापक एवं कुशल मार्गदर्शक अभिभावक तथा राष्ट्रले होनाहार उद्यमी व्यवसायी एवं समाजसेवी गुमाएको विश्वकर्माको भनाई छ ।

महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अल्पायुमा नै भएको उहाँको दुःखद निधनले अपुरणीय क्षति भएको छ । महासंघले एउटा संस्थापक एवं कुशल मार्गदर्शक र अभिभावक गुमाएको छ । राष्ट्रले एउटा होनाहार उद्यमी व्यवसायी एवं समाजसेवी गुमाएको छ । अपार दुःखको यस घडीमा धैर्यतापूर्वक शोकलाई शक्तिमा परिणत गरि उहाँको अधुरो सपनाहरुलाई साकार पार्नु नै हामी सबैको परम कर्तव्य र दायित्व हुन आएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछौं । साथै स्वर्गीय महर्जनको शोकाकूल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दे यो पीडा समन गर्न सक्ने क्षमता प्राप्त होस् भनी कामना गर्दछौं ।’

महर्जनको निधनप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा पोष्ट गर्दै अत्यन्तै सफल व्यवसायी सामाजिक व्यक्तित्वको निधनले पार्टीका लागिमात्र नभई देशैका लागि अपूरणीय क्षति भएको बताएका छन् ।

मिश्रले लेखेका छन्, “पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका महर्जन दुई वर्षभित्र म छोराछोरीलाई सबै व्यवसाय हस्तान्तरण गर्छु र पार्टीमा पूरै समय लगाउँछु”, भन्नुहुन्थ्यो समयले तपाईलाई पर्खिएन । तपाईको आत्मालाई चिरशान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ कार्तिक २०७८, मंगलबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।