बैंकहरुले ब्याजदर बढाएपछि निक्षेप खर्बले बढ्यो, सनराइजमा मात्रै १९ अर्ब थपियो

0
Shares

बैंकहरुले ब्याजदर वृद्धि गरेपछि निक्षेप थपिने क्रम बढेको छ । बैंकहरुले ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याएपछि असोज महिनामा बैंकहरुमा मात्रै करिब एक खर्ब रुपैयाँ निक्षेप थपिएको हो ।

चालु आर्थिक वर्षको असोज महिनामा मात्र वाणिज्य बैंकहरुमा ९७.४८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । तर, बैंकहरुले सोही अवधिमा १२६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अवधिमा बैंकहरुले निकै कसिलो अवस्थामा पनि कर्जा विस्तारको गतिलाई कम गरेको देखिदैन ।

तरलताको अवस्था कसिलो भएपछि बैंकहरुले असोज महिनामा ब्याजदर बढाएका थिए । बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा निक्षेपको ब्याजदर बढेसंगै फिर्ता हुन थालेको थियो । असोज महिनामा बैंकहरुले बढाएको ब्याजदरको अधारमा निक्षेप थपिएको देखिन्छ । असोज महिनामा सबैभन्दा धेरै १०.०७ प्रतिशत ब्याजदर कायम गरेको सनराइज बैंकले १९ अर्ब ६ करोड रुपैयाँ निक्षेप बढाएको छ ।

असोज महिनामा सनराइज बैंकले १९ अर्ब रुपैयाँ निक्षेप बढाउँदा ११ अर्ब रुपैयाँ भन्दा धेरै कर्जा लगानी गरेको छ । त्यसैगरी असोज महिनामा ९.५१ प्रतिशत निक्षेपको ब्याजदर दिएको सनिमा बैंकले १० अर्ब रुपैयाँ निक्षेप बढाएको छ । सो अवधिमा सानिमा बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशत तोकेको छ । अहिले अधिकासं बैंकहरुको कर्जा निक्षेप अनुपात सो सीमा भन्दा धेरै छ । केन्द्रीय बैंकले तोकेको सीमामा कर्जा निक्षेप अनुपात कायम गर्न अझै समय छ । तरपनि बैंकहरुमा तरलता अभावका साथै कर्जा लगानी योग्य रकमको अभाव पनि देखिन थालेको छ।

वित्तीय प्रणालीमा ब्याजदरका कारण निक्षेप थपिएपनि तरलता अभाव तथा कर्जा लगानी योग्य रकम अभावको समस्या सहज हुन सकेको छैन । कर्जा निक्षेप अनुपात राष्ट्र बैंकको सीमाभन्दा माथि भएका कारण बैंकहरुले नयाँ कर्जाका लागि नयाँ निक्षेप लिनुपर्ने अवस्था छ । त्यसैले नयाँ निक्षेपका लागि ब्याजदर बढाउने क्रम कात्तिक महिना सुरु भएपछि पनि कायम नै देखिएको छ । असोज महिनामा ६ बैंकको निक्षेप घटेको छ भने २ बैंकको कर्जा घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ४३ अर्ब रुपैयाँ कर्जा थप गरेका बैंकहरुले भदौ महिनामा करिब तीन गुणाले बढाएका छन् । चालु आर्थिक वर्षको भदौमा १०८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले असोज महिनामा झनै बढाएर १२६ अर्ब रुपैयाँ पुर्याएका हुन । त्यसैगरी चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुबाट करिब ७८ अर्ब रुपैयाँ निक्षेप झिकिएकोमा भदौ महिनामा ४७ अर्ब रुपैयाँ थपिएको छ । त्यसैगरी असोज महिनामा ९७ अर्ब रुपैयाँ भन्दा धेरै निक्षेप थपिएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहिबार  १८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।