
बेष्ट फाइनान्स लिमिटेड (BFC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको खराब कर्जा घटेसँगै नाफामा आकर्षक सुधार भएको हो ।
अघिल्लो आवको पहिलो त्रैमासमा फाइनान्स ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । असोज मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी ८२ करोड ८९ लाख १३ हजार र प्रतिशेयर आम्दानी ५८.४७ रुपैयाँ छ ।
फाइनान्सको जगेडा कोष ९४.७१ प्रतिशत बढेर २१ करोड १ लाख पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२५.३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.३४ गुणा छ ।
असोज मसान्तसम्म फाइनान्सको निक्षेप ४.३२ प्रतिशत र कर्जा लगानी ५३.११ प्रतिशतले बढेको छ । फाइनान्सले ३ अर्ब ९ करोड निक्षेप संकलन गरी २ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
त्यसैगरी, असोज मसान्तसम्ममा खुद ब्याज आम्दानी ३.५७ प्रतिशत घटेर २ करोड ७२ लाख ५९ हजारमा झर्दा सञ्चालन नाफा १३ करोड ८१ लख ६७ हजार पुगेको छ । १२ करोड ६६ लाख ९८ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा फाइनान्सको सञ्चालन नाफासँगै खुद नाफामा उच्च बढोत्तरी आएको हो । फाइनान्सको वितरण योग्य मुनाफा भने २७ करोड २५ लाख रुपैयाँ ऋणात्मक छ ।
आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी घटेको र खराब कर्जा असुलीबाट नाफा वृद्धि भएको देखिएकाले नाफामा वृद्धिको आधारमा मात्रै फाइनान्सको प्रगतिलाई विश्लेषण गर्नु उचित देखिन्न् । फाइनान्सको नियमित बिजनेश खुम्चिएकाले फाइनान्सलाई आगामी दिनमा यसलाई सुधार गर्नुपर्ने चुनौति छ ।
फाइनान्सको निष्क्रिय कर्जा १४.२६ प्रतिशतबाट घटेर असोज मसान्तसम्म आइपुग्दा ४.०५ प्रतिशतमा सुधारिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया