तिहार लक्षित अनुगमन सुरु: मध्यम खालका मिठाइ पसलको गुणस्तरमा धेरै लापर्वाही

0
Shares

काठमाण्डौं महानगरपालीकाले तिहार लक्षित बजार अनुगमन सुरु गरेको छ ।  महानगरले नियमनकारी कार्यालयका प्रतिनिधिहरुलाई सहभागी गराएर एकीकृत अनुगमन गर्ने योजनाअनुरुप आजदेखि अनुगमन सुरु गरेको हो ।

अनुगमनका क्रममा महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले आज चाबहिलका २ वटा मिठाइ पसललाई जरिवाना तिराएको छ । 

दर्ता अनुमति नलिई, दर्ता गरे पनि नविकरण नगरी व्यवसाय कारोवार र सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेका कारण जरीवाना तिराएको हो ।

कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीका अनुसार गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्वीट हाउसलाई २० हजार रुपैयाँ जरिवाना गरिएको जानकारी दिएका छन् ।

अनुगमन गरिएका मिठाइ पसलहरुमा कोभिडको स्वास्थ्य मापदण्ड पालना नगर्नुका साथै भान्छाको सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्य बस्तु विक्री गरेको, अनुमति नलिइ मिठाइजन्य खानेकुरा प्याकेजिङ् गर्ने गरिएको भेटिएको भण्डारीले जनाएका छन् ।

त्यस क्रममा पूजा स्वीट हाउसबाट उपभोग्य मिति गुज्रिएका २५० ग्राम तौल भएका हल्दिराम ब्राण्डका ५८ वटा प्याकेटद जफत गरिएको छ । यसैगरी गुप्ता स्वीट एण्ड चाटबाट हल्दिराम ब्राण्डकै २५ प्याकेट र ४०० ग्रामका २० प्याकेट जफत हो ।

अनुगमनका क्रममा सन्तोष स्वीट्समा प्रयोग गरिरहेको करीव ५ लिटर खान अयोग्य तेल नष्ट गरिएको छ ।  त्यस्तै म्याद सकिएको सोना पापड ९ प्याकेट, मुग दाल ७ प्याकेट, विकिनी पञ्जावी तड्का ४ प्याकेट, विकिनी भुजिया ४ प्याकेट, विकिनी मिक्स ९० प्याकेट जफत गरिएको समितिले जनाएको छ ।

अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा भन्छन्,“हामीले बजारमा गएर पटक पटक सचेत गराएका छौँ । हामी पुगेको बेला सुधार गर्छौं भन्नुहुन्छ तर अर्को पटक जाँदा अवस्था उस्तै हुन्छ ।”  ओझाले टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर र आइआर थर्मोमिटरको प्रयोग गरेर फ्रिज र तेलको तापक्रम परीक्षण गरेका थिए ।

अनुगमनबाट देखिएको बजारको अवस्थाका बारेमा प्रतिक्रिया दिँदै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मध्यम खालका मिठाइ पसलले गुणस्तरीय खाद्यबस्तुको बिक्रीमा ध्यान नदिएको बताएका छन् ।  “म्याद सकिएका सामान सोकेसमा सजाइएका छन् । भान्छा अँध्यारो छ । भान्छामा प्रयोग हुने मरमसला, पीठो, रङ्गजस्ता सामाग्रीको म्याद सकिए पनि प्रयोग भइरहेको छ ।” तिमल्सिना भन्छन्,“धेरैजसो उपभोक्ताले यस्तै पसलबाट मिठाइ किनेर प्रयोग गर्छन् । यसरी हेर्दा धेरै उपभोक्ताले गुणस्तरहीन मिठाइ खाइरहेका छन् । ”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ८ कार्तिक २०७८, सोमबार  १६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।