बैंकिङ प्रणालीमा नयाँ निक्षेप थपिनुको सट्टा झिकिएपछि बैंकहरुले कर्जा प्रवाह नै रोकेका छन् । ब्याजदर बढाउँदा पनि नयाँ निक्षेप नआएपछि बैंकहरुले कर्जा प्रवाहलाई नै नियन्त्रण गरेका हुन ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ७८ अर्ब निक्षेप बाहिरिएको बैंकिङ प्रणालीमा भदौ र असोज महिनामा थपिएको थियो । भदौ महिनामा ४८ अर्ब रुपैयाँ बैंकहरुमा निक्षेप थपिएको थियो । त्यसैगरी असोज महिनामा ९७ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । यो अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि निक्षेप संकलनको तुलनामा उच्च दरमा नै बढेको छ ।

तर, बैंकहरुले भदौ महिनाको सुरुवाती देखि तरलता अभावको समस्या झेल्नु पर्यो । बैंकिङ प्रणालमिा तरलता संकट जटील बन्दै गएपछि असोज महिना लागेपछि बैंकहरुले निक्षेप ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याए । त्यसले गर्दा असोज महिनामा केही नयाँ निक्षेप आएको देखिएपनि कर्जा लगानी बढाउन सक्ने अवस्था भने रहेन । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गरेसंगै अधिकासं बैंकहरुको सीडी अनुपात सो साीमा भन्दा माथि भएको हुनाले नयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्था नभएको हो ।
कात्तिक महिना लागेपछि बैंकहरुले कर्जा लगानी ठप्प नै राख्नु पर्ने अवस्था आयो । बैंकहरुले नयाँ निक्षेपका लागि बढाएको ब्याजदरमा नेपाल राष्ट्र बैंकको हस्तक्षेपले फिर्ता गर्नु प्रयो । त्यसले गर्दा बैंकहरुले ब्याजदर देखाएर निक्षेप तान्ने अवस्था पनि रहेन । सीडी अनुपात ९० भन्दा माथि भएका बैंकहरुले नयाँ निक्षेप आएको खण्डमा सीडी सीमा भित्र राख्नका लागि प्रयोग गर्नुपर्ने अवस्था भयो । त्यसले कर्जा लगानी योग्य रकमको समेत अभाव देखिन थाल्यो । त्यसको असर कात्तिक महिनाको पहिलो सातामा देखियो । बैंकहरुले कात्तिक महिनाको पहिलो सातामा कर्जा लगानी नै गरेका छैनन् ।
कात्तिक महिनाको पहिलो सातामा बैंकहरुबाट १६ अर्ब रुपैयाँ विदेशी मुद्राको निक्षेप घटेको छ भने करिब ५ अर्ब स्वदेशी मुद्राको निक्षेप घटेको छ । कात्तिकको पहिलो सातामा उच्च दरमा विदेशी मुद्राको निक्षेप घट्नु भनेको नजिकिदै गरेको दिपावलीका लागि आयात बढेको हुनाले पनि विदेशी मुद्राको निक्षेप घटेको हुन सक्ने अनुमान बैंकहरुकोे छ । तर, बैंकहरुले विदेशी मुद्राको कर्जा प्रबाह पनि ठप्प रहेको छ । कर्जा प्रबाह नै नभएपनि विदेशी मुद्राको निक्षेप भने उच्च घटेको छ । अन्य संस्थामा निक्षेप राखिएको विदेशी मुद्रालाई निक्षेप लिएको संस्थाको सीडी अनुपातमा मात्र गणना गर्न पाउँछन । त्यसले गर्दा पनि कृत्रिम सृजना भएको विदेशी मुद्राको निक्षेप घटेको अनुमान गर्न सकिन्छ ।
चालु आर्थिक वषृको कात्तिक ७ गतेसम्ममा वाणिज्य बैंकहरुमा ४२ खर्ब ४९ अर्ब रुपैयाँ कुल निक्षेप रहेको छ । सो अवधिमा बैंकहरुले ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया